
मंगलवार , जेठ १, २०८१
भैरहवा, १ जेठ ।
अवैध रुपमा आयात गरिएको प्याज संकलन गरी विक्री तथा कारोबार गर्ने गरिएको एउटा गोदाममा भैरहवा भन्सार कार्यालयले छापा हानेर ठूलो परिमाणमा प्याज बरामद गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४, बसन्तपुरस्थित भैरहवा–परासी सडकखण्डमा रहेको एउटा गोदाममा आइतबार राती छापा हानेर भैरहवा भन्सारको गस्ती टोलीले ५ सय बोरा प्याज बरामद गरेको हो ।
गस्ती टोलीले उक्त गोदामबाट ट्रकमा लोड गरी अन्यत्र लैजान लागिएको ना ५ ख ५२७१ नम्बरको ट्रक र चालक समेतलाई नियन्त्रणमा लिएको छ । ट्रक चालक पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ निवासी ३१ वर्षिय नारायण भुसाल रहेका छन् ।
भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका प्रमुख भन्सार अधिकृत नारद गौतमले बरामद गरिएको प्याज प्रतिकिलो ४० रुपैयाँका दरले १० लाख रुपैयाँ मूल्य बराबरको रहेको र नियन्त्रणमा लिइएको ट्रक र चालकमाथि थप अनुसन्धान र जारी रहेको बताए ।
रातभर विभिन्न नाका हुँदै चोरी गरी मोटरसाइकल र साइकलबाट प्याज ओसारेर संकलन गर्ने र उपयुक्त समयमा नेपालको विभिन्न बजारमा ट्रकबाट आपूर्ति गर्ने गरेको सूचना प्राप्त भएको गौतमले बताए । ‘अवैध रुपमा संकलन गरिएको यस्तो प्याजलाई तस्करहरुले ट्रकबाट अन्यत्र सप्लाई गर्दा बाटोमा हुने चेकजाँचबाट जोगिन भन्सारबाट एकपटक लिलामी सकारेको र स्थानीयस्तरमा खरिद गरेको कागजात देखाउने गरेका छन्’, उनले भने ।
प्याजको आयातमा नेपालमा १३ प्रतिशत भ्याट लगायत कृषि सुधार शुल्क र अग्रिम आयकर लाग्ने गर्छ । भारतले हालसालै प्याजको निकासीमा निकासी कर बढाएर प्रति मेट्रिकटन ५ सय ५० डलर पुर्याएको छ । जसले गर्दा जिल्लाका विभिन्न नाकाबाट प्याज तस्करी हुँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij