२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

पूर्व अर्थमन्त्री पौडेललाई ‘सलुट’ गर्छु : उपाध्यक्ष डा. लामा

बुधवार , जेठ ९, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, ९ जेठ ।
    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलको प्रशंसा गरेका छन् । 

    २५६८ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी प्रेस क्लब, रुपन्देहीले कोषसँगको सहकार्यमा लुम्बिनीमा आयोजना गरेको वृहत्तर लुम्बिनीको प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष लामाले पौडेलको प्रशंसा गरेका हुन् ।

    उनले भने, ‘म यहाँबाट माननीय पूर्व अर्थमन्त्री विष्णु पौडेललाई नमस्कार गर्छु, ढोग्छु र सलुट गर्छु । उहाँकै कारणले स्रोत सुनिश्चित भयो । उहाँले यदी नगर्नुभएको भए गुरुयोजना गुरुयोजनामै सीमित हुन्थ्यो । त्यो कहिल्यै सफल हुन्थेन । गुरुयोजना सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ । अर्थ मन्त्रालय र कर्मचारीहरुले पनि बुझ्नुपर्छ । व्यक्तिगत विकास र फाइदाका लागि नभइ लुम्बिनीको विकासका निम्ति लागिपरेका छौं ।’

    उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह समेत गरे । उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए । उनले बुद्ध जयन्ती मनाउने सन्दर्भमा अर्थ मन्त्रालयमा जाँदा भिख मागेको जस्तो अनुभुति भएको सुनाए । 

    उक्त अवसरमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राई लगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आफूहरु पत्रकारहरुसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए । 

    त्यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, कोषका प्रेस कसल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर प्रसाद पाण्डेले बोल्दै मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्यहरु राजेश शाक्य, श्याम रोक्का, सूचना अधिकारी राजन बस्नेत, नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासीका अध्यक्ष तथा प्रतिनिधि एवं तथा तीनै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।

    IMG_9961.JPG