२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

मंगलवार , जेठ १५, २०८१

बुटवल, १५ जेठ । 
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सघीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार (आज) शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरेका छन ।

‘आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो’, शुभकामना सन्देशमा भनिएको छ, ‘जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतासहित जनताका अधिकारहरुलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरिएका छन् । नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरुप आफ्ना कर्तव्यहरुको पालना गर्न सक्नुपर्दछ ।’

प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढीकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन् ।
‘सरकारले पहल गरेका विकास पूर्वाधार, उर्जा, पर्यटन, शिक्षा र सुशासनका नीति, योजना र कार्यक्रमहरुले जनतालाई लाभान्वित हुने अवसर प्रदान गरेको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘तर अझै बाँकी रहेका कामहरुको योजनावद्ध विकासबाट सफल हुन सक्नुपर्दछ । तबमात्र नेपालको सक्षम जनशक्ति र जनताले प्रगतिको अनुभूति गर्न सक्नेछन ।’

प्रदेश प्रमुख शेरचनले त्यसका लागि तीनवटै तहले औद्योगिक विकाससहित विकासका सबै पक्षहरुमा समानुपातिक परिवर्तन ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको समेत बताएका छन् ।