
बिहिवार , जेठ १७, २०८१
भैरहवा, १७ जेठ ।
होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पर्यटन प्रवद्र्धनमा सरकारले ध्यान दिन नसकेको बताएका छन् । उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न हानले देशैभरका व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताए । सिद्धार्थ होटल संघ, नेपाल (सान) को बुधबार भैरहवामा १६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् ।
उनले व्यवसायीहरुमा वर्षमा ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गर्दै सरकारले हालै सार्वजनिक गरेको बजेट वक्तव्यमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राख्नुले सरकार पर्यटन क्षेत्रको विकासमा चासो नदिएको स्पष्ट हुने दावी गरे ।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले राज्यको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेका कारण पर्यटन उद्योगमा भएको ठुलो लगानी धरापमा परेको बताए । उनले निर्माणाधिन होटलको काम रोकिएको, सञ्चालनमा आएका होटल व्यवसायीले बैंकको किस्ता तिर्न नसकेको उल्लेख गर्दै विमानस्थलको सञ्चालन बिना यस क्षेत्रमा पर्यटन ब्यवसाय फस्टाउन नसक्ने दावी गरे ।
समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै कालीगण्डकी कोरिडोर नै यस क्षेत्रको विकासका लागि सहयोगी हुन सक्ने दावी गर्दै बेलहियादेखि कोरोला नाकासम्म व्यापार तथा पर्यटन प्रबद्र्धन गर्नुपर्ने बताए ।
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश संयोजक तथा रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रसँगको साझेदारी बिना राज्यले कुनै पनि क्षेत्रमा विकास गर्न नसक्ने दावी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पर्यटन व्यवसाय फस्टाए मात्र उद्योग, व्यापार, कृषिलगायतका क्षेत्रको विकास हुने उल्लेख गरे । उनले पर्यटन उद्योगमा देखिएको दर्दनाक अवस्थाको प्रतिवेदन सार्वजनिक गर्न संघलाई अनुरोध गरे ।
कार्यक्रममा होटल एशोसिएसन नेपालका केन्द्रीय सदस्य राम कुमार पुरी, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् एशोसिएसन (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त, होटल संघ बर्दियाका अध्यक्ष मोहनलाल चौधरीलगायतले पनि बोलेका थिए ।
कार्यक्रममा संघका निवर्तमान महासचिव रविन्द्र घिमिरेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भोज खत्रीले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
सो अवसरमा सिद्धार्थ होटल संघ नेपालको स्थापना गर्ने पुराना व्यवसायी दीपक क्षेत्री न्यौपाने र यति होटलका सञ्चालक राम थापालाई सम्मान गरिएको थियो ।
त्यसै गरी संघका सल्लाहकार समेत रहेका पर्यटन क्षेत्रको प्रबद्र्धनमा क्रियाशील अभियन्ता तथा पत्रकार चेतन पन्त गम्भिर रोगका कारण स्वास्थ्य उपचार गराइरहेकोले उनलाई १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोगसहित सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij