
शुक्रवार , जेठ १८, २०८१
भैरहवा, १८ जेठ ।
पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिका लागि समान धारणा बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले समान धारणा बनाउँदै एकजुट भएर अघि बढे धेरै समस्याहरु समाधान गर्न सकिने बताए ।
सिद्धार्थ सञ्जाल, रुपन्देही र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीबीच आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धनलगायत विषयमा बिहीबार भैरहवामा आयोजित संयुक्त छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सिद्धार्थ सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले माग सम्बोधन गराउनका लागि एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘विकास निर्माण, पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि जस्ता मुख्य विषयमा एकजुट भएर अघि बढ्नुपर्छ । समान धारणा बनाउनुपर्छ । ’उनले पर्यटन प्रवर्द्धनका लागि रात्रीकालीन बजार आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष ज्ञवालीले पर्यटकको संख्या बढे पनि पर्यटकलाई रोक्न र बसाइ लम्ब्याउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे । उनले दरखसवा पार्कलाई व्यवस्थित गर्नुपर्ने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुन नसकेको उनको भनाइ थियो । सिद्धार्थनगर नगरपालिकाले डण्डा कोरिडोर परियोजनालाई यथाशिघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सञ्जालका उपाध्यक्ष संजय बजियमले भारतीय पर्यटक टिकाउन नसकिएको बताए । उनले बेलहिया नाका व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभइकन यस क्षेत्रको विकास हुन नसक्ने बताए । उनले भने, ‘भारतीय पर्यटकलाई पर्यटक मान्नुपर्छ । ’
त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले विभिन्न संघ–संस्थाहरु हातेमाले गर्दै अघि बढे माग सम्बोधन हुने बताए । उनले भने, ‘दुवै संस्थाका एजेण्डा एउटै प्रकृतिका छन् । यस क्षेत्रको विकासका लागि आवाज उठाउँदै आएका छौं । हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’
संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले देशको अवस्था विकराल रहेको र व्यवसायी पीडित भएको बताए । उनले पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिए ।
संगठनका उपाध्यक्ष नरेन्द्र खनालले सबै संस्था एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संगठनका सदस्य रोमकान्त भट्टराईले धेरै पर्यटक भित्र्याउन र बसाई लम्ब्याउन रात्रीकालिन बजार आवश्यक रहेकोमा जोड दिए । उनले नगरलाई सफा र स्वच्छ राख्न टोल विकास संस्थालाई अझै सक्रिय बनाउनुपर्ने बताए ।
सिद्धार्थ सञ्जालका कार्यसमिति सदस्य हरिश सेठियाले यस क्षेत्रमा भएका गन्तव्यहरुबारे ‘ब्रोसर’ बनाउनुपर्ने बताए । उनले दरखसवा पार्कमा खानेपानीको सुविधा आवश्यक रहेको बताए।
सोट्टो नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले रात्रीकालीन बजार आवश्यक रहेकोमा जोड दिए । उनले भारतीय पर्यटकले नेपालमा २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन नपाउने व्यवस्थाले पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए । उनले सीमा नाका बेलहियामा ३ सय मिटर सडक नबन्दा व्यवसायी, पर्यटक र स्थानीय पीडित रहेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका कोषाध्यक्ष दल बहादुर थापाले राती १० बजे नै होटलले बन्द गर्नुपर्ने अवस्था भएकाले राती आउने ग्राहकलाई कसरी राख्ने भन्दै प्रश्न गरे।
सिद्धार्थ सञ्जालका सदस्य सूर्य कुमार सारु मगरले स्थानीय सरकारले गर्नुपर्ने काम संघ-संस्थाहरुले गर्नुपरेको बताए । उनले भने, ‘स्थानीय सरकारसँग बृहत छलफल गर्नुपर्छ । ’उनले भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई आम्दानीको स्रोत बनाउनुपर्ने र बसपार्क फूल फेजमा चलाउनुपर्नेमा जोड दिए । बेलहिया नाका व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । सिद्धार्थ सञ्जालले नागरिक समाजको भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
संगठन र सञ्जालका सल्लाहकार दीपेश पछाईले भैरहवामा आएका पर्यटक टिकाउनुपर्ने बताए । उनले दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए । सञ्जालका सल्लाहकार खिम बहादर खत्रीले केवल निराशाका कुरा गरेर मात्र विकास नहुने बताए । उनले भने, ‘एकढिक्का भएर अघि बढ्नुपर्छ ।’ सञ्जालका महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij