
सोमवार , जेठ २१, २०८१
रुपन्देही, २१ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सोमबार (आज) ल्याउँदैछ । प्रदेश सभामा बिहान ११ बजे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजनालाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा प्रवक्ता निराजन घिमिरेले बताए ।
त्यस्तै प्रदेश सरकारले अघि बढाएका तर, हालसम्म सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने लक्ष्य राख्ने भएको छ । दूरदराजका बस्तीहरू जहाँ पूर्वाधार पुगेको छैन, त्यस्ता ठाउँहरूमा पूर्वाधार पुर्याउने, पूर्वाधार पुगेका स्थानमा सेवा प्रवाह र गुणस्तरमा ध्यान दिने भएको छ । समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अवधारणाअनुसार कृषि, पर्यटन, उद्योग, वन लगायतका क्षेत्रबाट उद्यमशीलता विकास गर्ने लक्ष्य सरकारले राखेको हो ।
प्रदेशमा रहेको मातृ मृत्युदर, बाल मृत्युदर, महिला तथा बालबालिकामा रहेको कुपोषण घटाउन सबै जिल्लामा सुरक्षित मातृत्व कार्य योजना कार्यान्वयन गर्ने, प्रादेशिक अस्पतालहरूको विशिष्टीकृत सेवा विस्तार गर्दै सबै वर्ग, उमेर, लिंग र जातजातिको पहुँच सुनिश्चित गर्ने, प्रदेशस्तरमा खेलकुद पूर्वाधारको विकास गर्दै ती खेलहरूलाई स्थानीयस्तरमा क्रमशः पुर्याउने, खेलाडीको क्षमता विकाससँगै प्रोत्साहनको कार्यक्रम अघि बढाउने गरी सरकारले प्राथमिकता निर्धारण गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिसकेको छ । जसमा प्रदेश सरकारले दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सृजना, संघीयताको सबलीकरण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, स्रोतसाधनको परिचालनमा मितव्ययीता एवं प्रभावकारी लगायतका विषयवस्तुलाई प्राथमिकतामा राखेको छ ।
कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सहज बजारको सुनिश्चितता गरिने, कृषि उपजमा आधारित उद्योगहरूको स्थापनामार्फत रोजगारी सृजना, आयवृद्धि, गरीबी निवारण, कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन थालेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij