
मंगलवार , जेठ २२, २०८१
भैरहवा, २२ जेठ ।
बुटवल सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले हालै वृद्धि गरिएको सुनको भन्सार महसुल खारेज गर्न माग गरेको छ । सुन आयातमा अव्यवहारिक भन्सार वृद्धि गरिएकोले आफूहरु विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीको गुनासो छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै संघले सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुले मोफसलमा व्यवसाय गर्ने साना व्यवसायीहरुलाई झन ठूलो क्षति पुगेको बताएको छ ।
बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले भने, ‘सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेटमा सुनचाँदी आयातमा भन्सार वृद्धि गरी १५ प्रतिशतमा ५ प्रतिशत वृद्धि गरी नयाँ दर कायम गरिएको हुँदा यस्तो नीतिले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था हुने र खुल्ला सीमा नाकाका कारणले छिमेकी देशबाट सुनका रेडिमेट गरगहना र काँचो सुनको आयात वृद्धिले राज्यलाई राजस्वमा क्षति हुने र व्यवसायीहरु विस्थापित हुने देखिन्छ । ’
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै नेपालमा सुनको व्यवसाय खस्कदो अवस्थामा रहेको विश्वकर्माले बताए । हालको विद्यमान सुनचाँदी आयातले व्यवसाय सञ्चालनको लागि आवश्यक कच्चापदार्थ प्राप्त गर्न नसकेको अवस्थामा विदेशी मुद्रा सञ्चितिको कारणले सुन आयातमा राज्यबाट गरिएको नियन्त्रणले व्यवसायीहरु मारमा उनले गुनासो गरे । सुनचाँदी व्यवसाय आफैमा महंगो र सुरक्षाका हिसाबले अतिनै चुनौती र संवेदनशील व्यवसाय भएको उनको भनाइ छ ।
संघका प्रवक्ता कृष्ण सुनारले सुन आयातमा भन्सार वृद्धिले झण्डै १ किलो सुन बराबर राज्यले २४–२५ लाख राजस्व गुमाउनुपर्ने र सुनको तस्करी बढ्न सक्ने बताए । उनले सुन आयात गर्दा विदेशी मुदाको सञ्चिति देखाइ सरकारले सुनको आयातमा कटौती गरेर व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न धौधो परिरहेको बताए । उनले भने, ‘हाल सुनमा लगाइएको अव्यहारिक भन्सार वृद्धिको समग्र व्यवसायीको हितमा छैन ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै बुटवल सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले सुनचाँदी सम्बन्धि निर्देशिका अविलम्ब लागू गर्नुपर्ने, सुन वितरण प्रणालीलाई प्रदेशस्तरीय बनाउनुपर्ने, व्यवसायीहरुको आवश्यकता अनुसार स्थानीय बैंकमार्फत सुन उपलब्ध गराउनुपर्ने नीति लागू गर्नुपर्ने र व्यवसायीमैत्री नीति लागू गर्नुपर्ने माग गरेको छ । संघले उक्त ज्ञापनपत्र अर्थ मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि बोधार्थ पठाएको छ ।
ज्ञापनपत्र हस्तान्तरण अघि जिल्ला प्रशासन कार्यालय गेट अगाडि भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, रूपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एस रत्न बज्राचार्य,सल्लाहकार सुरेशरत्न बज्राचार्य लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij