२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

२२ करोडको ठेक्कामा मिलेमतो भएको निर्माण व्यवसायीको आरोप

मंगलवार , जेठ २२, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • रुपन्देही, २२ जेठ ।
    रुपन्देहीका निर्माण व्यवसायीहरुले भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्कामा मिलेमत्तो भएको आरोप लगाएका छन् । कम रकम भएको टेण्डरलाई पन्छाउँदै निर्धारित रकमसँग नजिकै भएको टेण्डर रकम स्वीकृत गरिएको भन्दै उनीहरुले यसको छानबीनको माग गरेका छन् । 

    २२ करोड ३० लाख रुपैयाँको भवन निर्माणका लागि निर्माण कम्पनीले घटीघटाउमा १७ करोड ५० लाख भन्दा कम रकममा काम गर्न तयार भइ टेण्डर दर्ता गर्दा समेत ४ करोड रुपैयाँ बढी रकम उल्लेख गरेको कम्पनीलाई स्वीकृत गर्नुले ठूलो घोटाला गर्न खोजिएको भन्दै छानबीन गर्नुपर्ने व्यवसायीको माग छ ।

    अस्पतालको उक्त टेण्डर प्रक्रियामा अख्तियारको दुरुपयोग भएको आशंका भएकाले छानबीन हुनुपर्ने लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका सल्लाहकार जबिन कक्षपतिले बताए । उनका अनुसार बाबुल कन्ट्रक्सन कम्पनीले १८ करोड २६ हजारमा र एनबी कन्ट्रक्सन कम्पनीले १८ करोड ४६ हजारमा भवन निर्माणको ठेक्का लिन तयार भइ टेण्डर प्रक्रियामा सहभागी भए पनि नव सिर्जनशिल कन्सट्रक्सन कम्पनीको भ्याटसहित २२ करोड २९ लाख १० हजार ९७ रुपैयाँको (मु.अ.करसहित) बोलपत्र स्वीकृत गरिएको छ ।

    मोटो रकम घोटालाको योजना बनाएर अस्पताल प्रशासन र इञ्जिनियरिङ कन्सल्टेन्सीले ५ करोडसम्म बढी लागत इस्टिमेट गरेर टेण्डर आव्हान गरिएकाले उक्त टेण्डर प्रक्रियाको छानबीन गर्न माग गरिएको कक्षपतिले बताए ।

    टेण्डरमा कविन्द्र निर्माण सेवा काठमाडौ, एपिएम कन्स्ट्रक्सन एण्ड विल्डर्स –प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको थियो ।

    टेण्डरमा चलखेल गर्न ई–बिडिङ नगरी हार्डकपी नै पेश गर्नुपर्ने प्रावधानले पनि मिलेमतोको दावीलाई बल पुगेको व्यवसायी नवराज श्रेष्ठले बताए ।

    सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी निर्माण व्यवसायी संघ, रूपन्देहीकी अध्यक्ष मन्जु भुसालले आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाउन प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव अस्वीकार गरेको आरोप लगाइन् । उनले पुनः टेण्डर आव्हान गर्न माग गर्दै माग सम्बोधन नभए आन्दोलनमा जाने बताइन् ।

    प्राविधिक प्रस्ताव के कति कारणले अस्वीकृत गरिएको हो भन्नेबारे सुचनाको हक अनुसार जानकारी माग्दा नदिएकोले पनि यसमा मिलेमतो भएको आफूहरुको दावीलाई बल पुगेको भुसालले बताइन् । उनले प्रतिष्पर्धामा गएका कम्पनीहरुको प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को तथ्यतथ्य आधार बाहिर ल्याउनका लागि पुनः मूल्यांकन गराइ स्वच्छ वातावरण बजाउनुपर्ने निर्माण व्यवसायीहरुको माग रहेको बताइन ।

    त्यस्तै निर्माण व्यवसायीहरुले विभिन्न सरकारी निकायहरुबाट समयमै भुक्तानी नपाएको अवस्था रहेको गुनासो गरेका छन् । त्यसै गरी व्यवसायीहरुले साईट क्लीयर नभइ ठेक्का निकाल्खा निर्माण कार्य समयमै सम्पन्न गर्न नसकिएको र बजेटको सुनिश्चितता नहुँदै ठेक्का निकाल्ने परिपाटी रहेकोमा निर्माण कार्यहरु अलपत्र परेको बताएका छन् ।

    अस्पताल प्रशासनले भने कानूनी प्रक्रिया अनुसार नै टेण्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको दावी गरेको छ ।