
बिहिवार , जेठ २४, २०८१
भैरहवा, २४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा चारकोठे भवनको शिलान्यास गरिएको छ । भवनको बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले शिलान्यास गरेका हुन् ।
भवन निर्माणका लागि आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । ‘भवन निर्माण गर्न ८८ लाख ९१ हजार रुपैयाँ लाग्ने स्टीमेट तयार भएको छ । क्रमशः वडाबाट बजेट विनियोजन गर्नेछौं । भवन निर्माण सम्पन्न गर्न नगरपालिकाबाट बजेट विनियोजन गरिने नगरप्रमुखले आश्वासन दिनुभएको छ, ’श्रेष्ठले भने ।
विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले विद्यालयमा पूर्वाधार थप्दै जानुपर्ने आवश्यकता अनुसार चारकोठे भवन निर्माण हुन लागेको बताए । उनले वडा कार्यालयले बजेट विनियोजन गरेको भन्दै धन्यवाद दिए ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खानले नगरको महत्वपूर्ण विषयमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘वडाअध्यक्षहरु एउटा वडाबाट निर्वाचित भए पनि समग्र नगरपालिकाको बारेमा सोच्नुपर्छ ।’ उनले छिटो भन्दा छिटो चारकोठे भवन निर्माण कार्यसम्पन्न गर्नुपर्नेमा जोड दिए । समाज परिवर्तनमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । सिद्धार्थनगर नगरपालिका फोहोरमैला व्यवस्थापनका निम्ति लागिपरेको नगरप्रमुख खानले बताए ।
त्यस्तै सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले विद्यालयको प्रगतिको कामना गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले विगतमा हातमा जुत्ताचप्पल लिएर विद्यालयमा प्रवेश गरेको स्मरण गरे । उनले भने, ‘आजको परिस्थिति फरक छ । विद्यालयको मुहार फेरिदै गएको छ । ’अध्यक्ष गुप्ताले शिक्षकहरुको लगनशीलता र मिहिनेतका कारण यो विद्यालयमा पढेका विद्यार्थीहरु विभिन्न महत्वपूर्ण स्थानमा पुग्न सफल भएको बताए । उनले वडा नम्बर ५ को कार्यालयले विद्यालयमा धेरै सहयोग गरेको बताए । उनले भैरहवा नमुना माविमा वडा नम्बर ५ का नभइ रुपन्देही जिल्ला बाहिरबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने गरेकोले एउटा वडाको मात्र विद्यालय नसोच्न आग्रह गरे ।
शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण प्रसाद अग्रवाल, समाजसेवी बाबुलाल यादव, साहित्यकार विजय गोविन्द श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्साल, प्राध्यापक डा. शम्भु प्रसाद गुप्ता, श्री सिद्धार्थ सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर वडा नम्बर ५, १२ र १३ का अध्यक्ष गोविन्द प्रसाद बस्याललगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij