
शनिवार , जेठ २६, २०८१
भैरहवा, २६ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । नगरको वडा नम्बर ५ र १३ को संयुक्त आयोजनामा आयोजना गरिएको शिविरमा १५३ जनाले आँखा परीक्षण गराएका छन् ।
नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नम्बर ५ र १३ ले शनिबार मारवाडी सेवा संघको सभाहलमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए । शिविरमा दुवै वडाका वडाबासीहरु लाभान्वित भएका छन् ।
‘आँखा परीक्षण गराएका दुवै वडाका १५३ जनामध्ये ६ जनामा मोतियाबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले भने, ‘अब ती ६ जना व्यक्तिहरुको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया (अपरेशन) समेत गरिनेछ ।’ उनले आँखासम्बन्धि सबैखालका शल्यक्रियाका लागि नगरपालिकाले बजेट विनियोजन गरेर आँखा अस्पतालसँग सम्झौता गर्नुपर्ने बताए । उनले आँखाको समस्या भए यस क्षेत्रकै गहनाको रुपमा रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालबाट सेवा लिन आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिएको बताए । उनले आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताए ।
शिविरको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरपालिका नगरबासीको स्वास्थ्यप्रति संवेदनशील भएको बताए । उनले जिल्ला सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा बजेट कम आएको भन्दै असन्तुष्टी व्यक्त गरे ।
नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका सभापति कमलराज जोशीले गाउँगाउँमा शिविर सञ्चालनका लागि नेत्र ज्योति संघले सहयोग गर्दै आएको बताए । उनले श्री रण अम्बिका शाह आँखा अस्पतालमा मासिक ५० हजार बढी नागरिक उपचारका लागि आउने गरेको र त्यसमा अधिकांश भारतीय नागरिक रहेको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
श्री रण अम्बिका शाह आँखा अस्पतालका बाह्य कार्यक्रम निर्देशक तथा वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले मधुमेह भएका बिरामीलाई आँखाको समस्या हुन सक्ने भएकाले आँखा अस्पतालमा पुगेर आँखा परीक्षण गराउन आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति तथा समाजसेवी सुशील गुरुङले सडक, नाला बन्नु मात्र विकास नभएकोले मानवीय तथा समाजको विकासमा स्थानीय सरकारले ध्यान दिएको बताए । साहित्यकार विजय गोविन्द श्रेष्ठले आँखा बिना संसार देख्न नसकिने बताए ।
समाजसेवी नारायण प्रसाद अग्रवालले अन्धोपन निवारणका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । समाजसेवी अनिल गुरुङले शिविर आयोजना गर्ने वडा नम्बर ५ र १३ लाई धन्यवाद दिए ।
सिद्धार्थनगर नगरपालिका-१३ की वडा सदस्य सीता बुढाप्रितीको स्वागत तथा सिद्धार्थनगर-५ की वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली लगायतका कारण आँखामा समस्या आउने गरेको छ ।
मोतियाबिन्दुका बिरामीका लागि सिद्धार्थनगर नगरपालिकाले आफ्नो नगरबासीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ । हालसम्म वडा नम्बर २, ४, ५, ६, ७, ८, १०, ११ र १३ मा शिविर सम्पन्न भएको छ । जसमा १ हजार ५ सय पचास बढी नगरबासीहरु लाभान्वित भएको र जसमध्ये ९६ जनाले निःशुल्क रुपमा मोतिबिन्दुको शल्यक्रिया गराइसकेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij