
बुधवार , जेठ ३०, २०८१
भैरहवा, ३० जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा अढाइ महिने कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको वडा सदस्य विनित कुमार बेरिवालले बताए ।
‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ निःशुल्क रुपमा सञ्चालित तालिमको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताए । उनले भने, ‘बिना कम्प्युटर काम हुँदैन । आजको युगमा प्रत्येक क्षेत्रमा कम्प्युटरको जरुरी हुन्छ । ’
भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवालले प्राविधिक शिक्षा नभए रोजगारी पाउन पनि समस्या हुने बताए । उनले वडा नम्बर ५ को कार्यालयले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । अग्रवालले अनुशासित भएर सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले वडा नम्बर ५ को कार्यालयसँग हातेमालो गर्दै विभिन्न कार्यक्रम सम्पन्न गरेको बताए । उनले आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए ।
सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीहरुको सीप क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘म तालिमका प्रशिक्षार्थीहरुलाई समयमै पुग्न र अनुशासित भएर सिक्न आग्रह गर्दछु । साथै तालिम सिकेपछि तालिमको सदपुयोग गर्न आग्रह गर्दछु । ’उनले आगामी दिनमा आवश्यकता अनुसार एडभान्स कम्प्युटर तालिम पनि सञ्चालन गरिने बताए ।
साहित्यकार विजय गोविन्द श्रेष्ठले कम्प्युटर शिक्षा आजको युगको आवश्यकता भएको बताए । उनले विदेश पलायन हुने नागरिकको संख्या बढ्दै गएकाले बेरोजगार नागरिकलाई रोजगारी दिनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
समाजसेवी विनिता श्रेष्ठले भनिन्, ‘युवायुवतीहरुलाई सीप सिकाउनुका साथै रोजगारी दिनेतर्फ पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’
उद्योगी तथा समाजसेवी ब्रिजेश अग्रवालले वडा नम्बर ५ ले गरेको कामको जति प्रशंसा गरे पनि कमै हुने बताए । उनले वडा कार्यालयले नागरिकलाई लाभ हुने खालका कार्यक्रमहरु गरेको बताए ।
भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले वडा नम्बर ५ ले धेरै राम्रो काम गरेको बताए । उनले भने, ‘हामीले वडाअध्यक्ष र वडाको टीमप्रति गर्व गर्नुपर्छ । वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ वडा नम्बर ५ को ‘बालेन’ हुनुहुन्छ । ’
वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर–१२ आवारोडस्थित गोल कम्प्युटर सेन्टरमा सञ्चालित तालिमको सहजीकरण प्रशिक्षक रमाकान्त चौधरीले गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij