२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न संघको आग्रह

बुधवार , जेठ ३०, २०८१

भैरहवा, ३० जेठ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङसँग भेटघाट गरेको छ । बुधबार बुद्ध जन्मस्थल लुम्बिनी आएका मन्त्री रुइफेंङसँग भेटघाट गरी संघको टोलीले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ एयरलाइन्सको उडान सञ्चालनका लागि समन्वयकारी भूमिका निर्वाह र पहलका लागि आग्रह छ । संघले उनलाई अनुरोधपत्र बुझाउँदै चीनबाट नियमित उडानका लागि पहल गर्न आग्रह गरेको छ । 

यो विमानस्थलमा नेपाल र चीनबीचको हवाई उडानले दुई देशबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्ने मात्र नभई आर्थिक विकासमा समेत टेवा पुग्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उडान भर्न दुवै देशबीच छिटो भन्दा छिटो पहल सुरु होस भन्ने आग्रह गर्दछु । यसका लागि हामी चिनियाँ सरकारसँग पनि अनुरोध गर्दछौं । ’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भएको र यो बुद्ध जन्मस्थल लुम्बिनीबाट नजिक रहेको उनले बताए । 

‘यो विमानस्थल दुई वर्षअघि चिनियाँ निर्माण कम्पनीबाट निर्माणसम्पन्न भइ नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो, विमानस्थल निर्माणले संस्कृति आदानप्रदान र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं । तर, हालसम्म पनि विमानस्थल पूर्ण र नियमित क्षमतामा सञ्चालन हुन सकेको छैन । ’

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले विमानस्थल नियमित सञ्चालनका लागि सरकारी निकायसँग निरन्तर पहल गरे पनि सुचारु हुन नसकेको उनको भनाइ छ । लुम्बिनी होटल संघ, नेपालले पनि संघले गरेको पहललाई साथ र समर्थन गर्दै आएको उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा चीनसहित विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु आउने गरेको उनले बताए । 

त्यस्तै संघले यस क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ लगानीकर्ताहरुलाई प्रोत्साहन गरिदिन मन्त्री चेन रुइफेंङसँग आग्रह समेत गरेको छ ।

चिनियाँ मन्त्री रुईफेंङले चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिवद्धता जनाए ।