२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–१३ मा एकहप्ते ‘सेल्फ मेकअप’ तालिम सम्पन्न

बिहिवार , जेठ ३१, २०८१

भैरहवा, ३१ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा सञ्चालित एकहप्ते ‘सेल्फ मेकअप’ सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को कार्यालयको आयोजनामा भएको तालिममा ५० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको वडाअध्यक्ष सोम बहादुर गुरुङले बताए ।

बुधबार तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नेपालको संविधान २०७२ ले महिलालाई धेरै अधिकार दिएको बताए । उनले भने, ‘घरपरिवार हेर्ने महिलालाई आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । मलाई लाग्छ तालिममा धेरै राम्रोसँग यहाँहरुले सिक्नुभएको छ ।’ उनले थोरै लगानीमा पनि व्यवसाय गर्न सकिने र काम ठूलो वा सानो नहुने बताए । उनले सिद्धार्थनगर पर्यटन हब बन्दै गएको बताए ।IMG_3640.JPG

त्यस्तै सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले पछिल्लो समय दैनिक हजारौ युवायुवती विदेश पलायन भइरहेको बताए । उनले विदेशमा पनि सीप काम लाग्ने भएकाले सीप सिक्न आग्रह गरे । वडाअध्यक्ष गुरुङले मुलुकमा भएका परिवर्तनका लागि आन्दोलनहरुमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने, ‘महिला यो देशको परिवर्तनको बाहक हुनुहुन्छ । तर, अपेक्षित रुपमा महिलाको सहभागीता हुन सकेको छैन । उनले आगामी दिनमा पनि विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिने बताए । तालिम लिएर मात्र नहुने भएको तालिममा सिकेका कुराहरु सदुपयोग गर्न उनको आग्रह थियो ।

सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ र १३ ले एक–अर्कासँग सहकार्य गर्दै अघि बढेको बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कोशिष बहादुर खड्काले सुन्दरता महिलाको ठूलो गहना भएको बताए । उनले महिलाहरुलाई राजनीतिमा पनि अगाडि आउन आग्रह गरे ।
रुपन्देही तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालन गर्न वडा कार्यालयलाई आग्रह गरे ।

तालिमको प्रशिक्षक पल्लवी न्यौपानेले वडा नम्बर १३ को कार्यालयले तालिमको सहजीकरण गर्ने अवसर दिएको भन्दै धन्यवाद दिइन् । उनले तालिममा सरकारको लगानी भएकाले प्रमाणपत्र घरमा नथन्काउन र तालिममा सिकेका कुराहरुको सदुपयोग गर्न आग्रह गरिन् । उनले सीपलाई आयआर्जनको रुपमा हेर्ने गरिएको बताइन् ।

तालिममा सहभागीकोतर्फबाट बोल्दै सर्मिला गुरुङले एक हप्तामा धेरै कुराहरु सिक्न सफल भएको बताइन् । उनले महिलाहरु घरमा मात्र सीमित हुन नहुने धारणा राखिन । आगामी दिनमा पनि वडा कार्यालयले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

IMG_3644.JPG

वडा सदस्य नीलु श्रीसको स्वागत तथा वडा सदस्य सीता बुढाप्रितीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा प्रशिक्षकद्वय पल्लवी न्यौपाने र नैना गुरुङले प्रशिक्षण दिएका थिए ।