
शनिवार , आषाढ २, २०८१
भैरहवा, १ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । त्यस्तै उनले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको मन्त्री आचार्यले जानकारी दिए ।
त्यस्तै उनले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ८ अर्व २८ करोड ६४ लाख, सशर्त अनुदानबाट रु ४ अर्ब १८ करोड, समपुरक अनुदानबाट रु ७९ करोड, बिशेष अनुदानबाट रु ७४ करोड र चालू आर्थिक बर्षको नगद मौज्दातबाट रु २ अर्व परिचालन हुने अनुमान गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij