२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

घट्यो पेट्रोलियम पदार्थकोे मूल्य

शनिवार , आषाढ २, २०८१

भैरहवा, १ असार । 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ घटाइएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६४ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५१ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।  यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ ।