२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देही इभेन्ट्स व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ, सचिवमा गुप्ता

आइतवार , आषाढ ३, २०८१

भैरहवा, २ असार ।
रुपन्देही इभेन्टस् व्यवसायी संघ, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले किरण कुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत ओम पंगेनीले बताए ।

संघको उपाध्यक्षमा मोहम्मद इसरार, सचिवमा दुर्गेश गुप्ता, कोषाध्यक्षमा महेश पौडेल र सह–सचिव वसिम अहमद निर्वाचित भएको निर्वाचन समिति सदस्य स्वस्तिक श्रेष्ठले जानकारी दिए । उनका अनुसार संघको सदस्यमा मोहम्मद खलिल, मोहम्मद हजरत खाँ, राजेश कुमार मिश्रा, मोहम्मद ईलियास चुरिहार, कलामुद्दीन मुसलमान, सेराज अहमद, अफरोज अहमद, रामसहाय लोहार, दिलिप कलवार, कृष्ण श्रेष्ठ, महेन्द्र यादव र संजय गुप्ता निर्वाचित भएका छन् ।

WhatsApp Image 2024-06-15 at 7.41.41 PM.jpeg

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले इभेन्टस् व्यवसायीले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि बहन गरेको बताए । उनले भने, ‘तपाईहरु बधाईको पात्र पनि हुनुहुन्छ । तपाईहरुको व्यवसाय फलोस्, फुलोस् । जबसम्म दुनिया रहन्छ । तपाईहरुको व्यवसाय पनि चलिरहन्छ ।’ नगरप्रमुख खाँले इभेन्टस् व्यवसायीले रोजगार समेत सिर्जना गरेको बताए ।

IMG_4161.JPG

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दुले सम्पूर्ण व्यवसायीहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले संस्थाले आफ्नो सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सरकारले व्यवसायमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले इभेन्टस् व्यवसायीले रोजगारी पनि सिर्जना गरेको बताए ।

सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अहिले सम्पूर्ण व्यवसायको स्थिति दयनीय रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा व्यवसायीले दुःख पाएको बताए । उनले इभेन्टस् व्यवसायी र होटल व्यवसायी एक–अर्काका पुरक भएको बताए ।

नेपाल मुस्लिम संघ रुपन्देहीका अध्यक्ष समसाद अहमद खाँले व्यवसायी मिलेर अघि बढ्दा अवश्य नै सफलता पाउन सकिने बताए । उनले टेन्ट हाउस सेवामुलक व्यवसाय पनि भएकाले पछिल्लो समय सिद्धार्थनगर नगरपालिकाले बढाएको करलाई घटाउनुपर्ने बताए । 

रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रेम पाण्डेले रुपन्देही इभेन्ट्स व्यवसायी संघले मूल्यमा एकरुपता ल्याउने प्रयास गरेको बताए । उनले रुपन्देही व्यापार संघकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रुपन्देही इभेन्ट्स व्यवसायी संघका सल्लाहकार अफराज अहमदले चुनौतीको सामना गर्न सक्षम रहेको बताए । संघका कार्यवाहक अध्यक्ष मोहम्मद इसरारले इभेन्टस् व्यवसायलाई अझ व्यवस्थित र मर्यादित बनाउन लागिपरेको बताए । 

उद्योग व्यापार संगठन रुपन्देहीका कार्यसमिति सदस्य तथा युनिक वैंक्वेट भैरहवाका सञ्चालक सिकन्दर अलीले भारतबाट आएर इभेन्ट्सको काम गरिदिने केही व्यक्तिहरुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताए ।

द दरबार बैंक्वेटका सञ्चालक दुर्गेश गुप्ताले इभेन्टस् व्यवसायीलाई फरक दृष्टिकोणले हेर्ने गरिएको बताए । उनले व्यवसायीको समस्या समाधानका लागि संस्था गठन गरिएको र सम्पूर्ण व्यवसायीले नियम, कानूनमा रहेर नै व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

रुपन्देही इभेन्ट्स व्यवसायी संघका कार्यवाहक अध्यक्ष मोहम्मद इसरारको अध्यक्षता, कार्यक्रम संयोजक एवं तदर्थ समितिका सह–सचिव ओसिम अहमदको स्वागत तथा सचिव किरण कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुनिल क्याटरिङका सञ्चालक सुनिल हलुवाई लगायतले बोलेका थिए ।

कार्यक्रममा संघका तदर्थ समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।