२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर-४ मा सातदिने अचार र अगरबत्ती बनाउने तालिम सम्पन्न

शुक्रवार , आषाढ ८, २०८१

भैरहवा, ७ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा सातदिने अचार र अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा विश्वास कलेज अफ टेक्निकल एजुकेशनल एण्ड मोटिभेसनल ट्रेनिङको प्राविधिक सहयोगमा सिद्धार्थ बौद्ध गुम्बामा सञ्चालित तालिम बिहीबार समापन भएको हो।

तालिमको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उद्यमी बन्ने सोच राख्न तालिमका प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले भने, ‘वडा कार्यालय तपाईहरुको साथमा छ । समूह बनाएर उत्पादन गर्नुहोस् । तपाईहरुले उत्पादन गरेका सामग्री वडा कार्यालयले नै खरिद गरिदिनेछ ।’

उनले आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले महिलाहरुसँग सल्लाह–सुझाव लिएर महिलाहरुका लागि सीपमूलक तालिम सञ्चालन गरिने बताए । उनले तालिममा सहभागी प्रशिक्षार्थी भोलिका दिनमा प्रशिक्षक बन्ने सके सिंगो सिद्धार्थनगरको गरिमा बढ्ने उल्लेख गरे । महिला अघि नबढेसम्म देश अगाडि बढ्न नसक्ने उनको उनले वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन बनाउने प्रयासमा रहेको जानकारी दिए । उनले भने, ‘म जति गर्न सक्छु, त्यति मात्र बोल्छु ।’

त्यस्तै विश्वास कलेज अफ टेक्निकल एजुकेशनल एण्ड मोटिभेसनल ट्रेनिङका सचिव श्याम सुन्दर यादवले तालिममा सिकेका कुराहरु दैनिक जीवनमा प्रयोग गर्न र व्यवसायिक बन्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले आगामी दिनमा पनि यस्ता तालिममा संस्थाको प्राविधिक सहयोग रहने बताए ।

तालिमको प्रशिक्षक जुना पुरीले अनुशासन सबैभन्दा ठूलो कुरा भएको उल्लेख गरिन् । उनले भनिन्, ‘सफल उद्यमी बनेर देखाउनुहोस् । तपाईहरु सक्षम हुनुहुन्छ । म साथ दिन तयार छु।’

फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले आमा समूहको पहलमा तालिम सञ्चालन भएको र यो तालिम आवश्यक र उपयोगी भएको बताए ।

आमा समूहकी अध्यक्ष शुभद्रा पौडेलले आगामी दिनमा पनि तालिमले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । उनले वडाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
सहभागीहरुको तर्फबाट बबिता गुरुङ र रमा श्रेष्ठले तालिमबाट धेरै कुरा सिकेको भन्दै आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्न आग्रह गरे । विष्णु आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

गत जेठ ३१ गतेदेखि सुरु भएको तालिममा जुना पुरी, राज्यलक्ष्मी अग्रहरी, सीमा कुमारी गौड र नितु अग्रहरीले प्रशिक्षण दिनुभएको विश्वास कलेज अफ टेक्निकल एजुकेशनल एण्ड मोटिभेसनल ट्रेनिङका अध्यक्ष सुरेश कहाँरले बताए । उनका अनुसार दुवै तालिममा ४७/४७ गरी ९४ जनाको सहभागीता रहेको थियो ।

IMG_4885.JPG
IMG_4872.JPG