
शुक्रवार , आषाढ ८, २०८१
रूपन्देही, ७ असार ।
रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार राती भएको आगलागीबाट ५० करोड बराबरको क्षति भएको सञ्चालकले बताएका छन् । आगलागी कहाँबाट सुुरु भयो र कति क्षति भयो भन्ने पूर्ण विवरण नआइसके पनि ५० करोड भन्दा बढीको क्षति भएको डेल्टा कम्प्लेक्सका सञ्चालक चोला प्रसाद पाठकले बताए । आगलागीबाट भएको क्षतिको विवरण संकलनका लागि शुक्रबार बिहान सञ्चालक समितिहरुको बैठक बसेको पाठकले जानकारी दिए ।
बिहीवार साँझ साढे ५ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर निभाउन सफल भए पनि सबै सामान तथा भवन भने जलेर नष्ट भएका छन् । मेटल स्टक्चरमा निर्माण गरिएको चारतले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागी भएको करिब ८ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो ।
झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोशाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको मार्ट सञ्चालनमा थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसल र सामानहरु झण्डै ८ घण्टा लागेको आगोले खरानी भएका छन् । डीएसपी पण्डितका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्ण रुपमा ध्वस्त भएको छ ।
आगलागीपछि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी १५ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए ।
फलाम र प्यानलबोर्डबाट बनेको चारतले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र सिसा जडान गरी निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो ।
कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तीनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । बुटवलका ठुला व्यवसायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले सञ्चालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला २ वर्षदेखि नेपाली जुत्ता घर र नेपाली लुगा घर पनि सञ्चालन गरिएको थियो । कम्प्लेक्समा सञ्चालित विभिन्न पसल तथा फर्महरुमा २ सयभन्दा बढीले रोजगारी पाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij