२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालको श्रम बजारलाई विदेश जानबाट रोक्नुपर्छ : मुख्यमन्त्री महरा

आइतवार , आषाढ १०, २०८१

दाङ, ९ असार । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले नेपालको श्रम बजारलाई विदेशमा जानबाट रोक्नुपर्ने बताएका छन् । उनले नेपालले उत्पादन गरेका योग्य श्रम शक्तिलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सबै पक्षले छलफल चलाउनुपर्ने धारणा राखे ।

उनले नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रम बजारलाई यही खपत हुने वातावरण सिर्जना गर्नेतर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जानकारी दिए ।

‘नेपाली श्रमिकको श्रम मूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री महराले भने, ‘नेपाली उत्पादनको बृद्धि र श्रममुल्य समय सापेक्षक बनाउन जरुरी देखिन्छ।’

दाङको घोराहीमा सुचना तथा सञ्चार, प्रविधिको विकासको नविनतम प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उनले समयको रफ्तारसँगै प्रविधिको विकास र विस्तार हुँदै गएको बताए ।

राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्वारी कम्युनिकेशन तथा रिसर्च सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिनुपर्ने सुझाव दिए ।

विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको माटो सुहाउने र योग्य जनशक्ति उत्पादनका लागि सबै पक्षले काम गर्नुपर्ने बताए ।

मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सही रुपमा प्रयोग गर्न जरुरी भएको बताउँदै गलत रुपमा प्रयोग हुने विषयवस्तुहरुलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपालको गुणस्तर शिक्षालाई प्रविधिसँग जोड्नु जरुरी छ । मुख्यमन्त्री महराले भने,‘ प्रविधि र सञ्चार संग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।’

नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु विदेशिने क्रम बढदो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरी नेपालमा नै अध्ययन गर्नेवबातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई उनले आग्रह गरे ।

उक्त कार्यक्रममा प्रविधि क्षेत्रमा ५ जना विज्ञले प्रविधि क्षेत्रको बौद्धिक प्रयोग गर्ने विषयमा प्रशिक्षण गर्नेछन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेख भण्डारी, पूर्व स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायव महाप्रबन्धक ई. चिन्तामणि बराल र नेपाल टेलिकमका ई. रबिराज यादवले कृत्रिम बौद्धिकता सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गरेका थिए ।