
बुधवार , आषाढ १३, २०८१
भैरहवा, १२ असार ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थानमा जोड दिनुपर्ने माग गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा निल हिरा समाजको आयोजनामा मंगलबार भैरहवामा भएको सरोकारवाला निकायहरुसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दाहरु विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले संविधानले दिएका कतिपय अधिकार पाउन पनि संघर्ष गर्नुपरेको दुःखेसो पोखे ।
कार्यक्रममा एक्लोलाई सहारा दिने वृक्ष समूहकी कार्यक्रम संयोजक मनिला न्यौपानेले केही पालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थानका लागि आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको बताइन् । उनले अन्य पालिकाहरुले पनि सोही अनुसार नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइन् । उनले संविधानले दिएका अधिकारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि सबैको पहल र प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।
निल हिरा समाजका कार्यक्रम निर्देशक संजय शर्माले कोभिडको बेला क्वारेन्टिन र आइसोलेशन सेन्टर लैंगिकमैत्री नभएको गुनासो गरे ।
निल हिरा समाजकी कार्यक्रम अधिकृत भुमिका श्रेष्ठले नेपालको संविधानले लैंगिक तथा अल्पसंख्यक समुदायका अधिकारबारे स्पष्ट पारेकोले ती अधिकार व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताइन् । उनले यो समुदायले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थानका लागि पालिकामा प्रत्येक बजेट तथा कार्यक्रम समावेश गर्दै आइरहेको र यसलाई निरन्तरता दिदै जाने बताइन् ।
एबीसी नेपालका क्षेत्रीय संयोजक मनोज लामिछानेले योजना बनाउँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागीता आवश्यक रहेकोमा जोड दिए । उनले पालिकाले यो समुदायको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गर्नुपर्ने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देही प्रतिनिधि रीमा बि.सी.ले कुनै एउटा पक्षलाई छोडेर समृद्धि नआउने बताइन् ।
माइती नेपाल आवधिक गृह भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले एउटा संस्थाले मात्र आवाज उठाएर नहुने भएकाले सबै मिलेर आवाज उठाउनुपर्नेमा जोड दिइन् ।
एक्लोलाई सहारा दिने वृक्ष समूहकी अध्यक्ष अस्मिता रानाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राम्रो काम गर्दा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, रुपन्देहीका मानव अधिकार अधिकृत दीपक ठाकुर, जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक अमृता के.सी.,एक्लोलाई सहारा दिने वृक्ष समूहका कार्यसमिति सदस्य विनोद वि.सी.लगायतले बोलेका थिए ।
कार्यक्रममा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने कार्यक्रमबारे रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनलाई प्रस्तावना हस्तान्तरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij