२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सिद्धार्थनगर–५ मा चुरा र पोते सेट बनाउने तालिम सम्पन्न

बिहिवार , आषाढ १४, २०८१

भैरहवा, १३ असार ।
‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालयको आयोजनामा सञ्चालित ७ दिने चुरा र पोते सेट बनाउने तालिम सम्पन्न भएको थियो । बुधबार तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथथि समाजसेवी नारायण प्रसाद अग्रवालले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । उहाले तालिममा सहभागी भएका महिलाहरु संगठित भएर लगानी गरी आफूले सिकेको सीपलाई ब्यवसायीकरण गर्न सकिने बताए । 

त्यस्तै सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले सीप सिकेर आफूले उत्पादन गरेका सामानहरु कोसेली घरमा राखेर विक्री वितरण गर्न सकिने बताए । उनले वडाबासीद्वारा उत्पादित सामानको बजारीकरण गर्नका लागि स्थानीय सरकार, विभिन्न संघ–संस्था तथा उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनसँग पहलकदमी गर्ने बताए ।
सिद्धार्थनगर–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङले चुरा र पोते सेट बनाउने तालिमले महिलाहरु आत्मनिर्भर बन्ने र यसलाई रोजगारीसँग जोडन आग्रह गरे ।

भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले तालिममा सिकेका सीपहरुलाई निरन्तरता दिन आग्रह गरे । उनले सीप सिकेका महिलाहरु समुह बनाइ काम गरे सफल व्यवसायी बन्न सक्ने बताए ।

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका कारण स्वदेशी वस्तुले बजार पाउन नसकेको गुनासो गरे । उनले कोसेली घरलाई पर्यटनसँग जोड्न सके मात्र स्थानीय उत्पादनलाई अगाडि बढाउन सकिने बताए ।

सि.न.पा. वडा नम्बर ५ की वडा सदस्य किरण देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा भैरहवा नमुना मा.वि.का प्राचार्य चुन्नु प्रसाद पाण्डे, प्रशिक्षार्थी शितल मोदनवाल लगायतले बोलेका थिए । तालिममा ३० जना महिलाहरुको सहभागीता रहेको वडा कार्यालयले जनाएको छ ।