
शुक्रवार , आषाढ १५, २०८१
भैरहवा, १४ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्षसँग प्रधानाध्यापक कार्यक्रम अन्तर्गत पालिकाभित्रका प्रधानाध्यापकहरुसँग छलफल कार्यक्रम गरिएको छ । बिहीबार रोहिणी–३ धकधईस्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा भएको कार्यक्रममा नीति, योजना तथा बजेटमाथि छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा विकासको महत्वपूर्ण पूर्वाधार भएको बताए । उनले भने, ‘विकास भनेको सडक र नाला निर्माण गर्नु मात्र होइन । शिक्षाको विकासले समग्र मुलुकको विकास हुन्छ ।’ गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति गाउँपालिका लागिपरेको भन्दै उनले यसमा विशेष ध्यान दिन सम्पूर्ण प्रधानाध्यापकहरुलाई आग्रह गरे । उनले भने, ‘विद्यार्थीहरुको नतिजा राम्रो ल्याउनका लागि यहाँहरुकोतर्फबाट अझ बढी ध्यान जानुपर्ने देखिन्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘बजेटको सीमितता छ । चाहेजत्ति स्रोतसाधन छैन । तर, समस्याबाट भागेर हुँदैन ।’
कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij