२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार वितरण

शुक्रवार , आषाढ १५, २०८१

भैरहवा, १४ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले पौष्टिक आहार वितरण गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाई गरी १३१ जनालाई पौष्टिक आहार वितरण गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले वडा नम्बर ५ ले जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुको सम्मान गर्नु नै उदाहरणीय कार्य भएको बताए । उनले सि.न.पा. वडा नम्बर ५ को सम्पूर्ण टीमलाई धन्यवाद दिदै यस्तै टिमको आवश्यकता हरेक नगर र वडामा भएको बताए । सांसद चौधरीले भैरहवामा सहयोगी हातहरुको कमी नभएको बताउँदै यस्तै सहयोग हरेक क्षेत्रमा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सिद्धार्थनगर–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जेष्ठ नागरिक, एकल महिला, तथा अपांगता भएका व्यक्तिहरु समाजको धरोहर भएको बताए । उनले आफना अभिभावकहरुलाई प्रत्येक सन्तानले सेवा गर्नुपर्ने सन्देशका साथ वडाले सम्मान गर्दै आएको बताए । उनले वडा कार्यालयले वडाभित्र रहेका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाई प्रत्येक वर्ष धार्मिक तीर्थयात्रा गराउदै आएको जानकारी दिए ।

समाजसेवी तथा उद्योगी बृजेश अग्रवालले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र आएका बजेटहरु सही ठाउँमा लगानी र उपयोग गर्दै आएको बताए ।

समाजसेवी डा.शम्भु गुप्ताले सि.न.पा. वडा नम्बर ५ ले शिक्षा, स्वास्थ्य, मानवीय विकास लगायतका क्षेत्रमा सक्रिय भएर काम गर्दै आएको बताए ।

वडा सदस्य प्रेम नारायण गुप्ता (तेली) को स्वागत तथा वडा सदस्य विनित कुमार बेरिवालको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य सरस्वती श्रेष्ठ, समाजसेवी नारायण प्रसाद अग्रवाल, भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।

449271096_7286430161462781_2467277341353359423_n.jpg