
शनिवार , आषाढ १६, २०८१
भैरहवा, १५ असार ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको १३३४ औं नियमित बैठक तथा धन्यवाद ज्ञापन समारोह (कार्यक्रम) शुक्रबार कपिलवस्तुको वाणगंगा नगरपालिका–३ स्थित राजापानीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष नारायण प्रसाद भण्डारीले आफूले नेतृत्व गरेको वर्ष २०२३/०२४ को कार्यकाल सकिन लागेको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेका हुन् । उनको कार्यकाल जुन ३० बाट सकिदैछ ।
कार्यक्रममा क्लबले वर्ष २०२३/०२४ मा गरेका कार्यक्रमहरुमा संयोजकको जिम्मेवारी निर्वाह गरेका कार्यक्रम संयोजक, क्लबका पूर्वअध्यक्षहरुलगायतलाई मायाको चिनो प्रदान गरी अध्यक्ष भण्डारीले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अध्यक्ष भण्डारीको कार्यकालमा धेरै राम्रा कार्यहरु भएको र उनको कार्यकाल उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गभर्नर (एजी) रविलाल पोखरेलले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले धेरै राम्रा कामहरु गरेको बताए । उनले भने, ‘आज मलाई खुसी लागेको छ । नारायणजीको कार्यकालमा एजी बन्न पाएँ, क्लबले सम्मान दिएको छ । डिष्ट्रिककोतर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।’
त्यस्तै रोटरी काउन्सील चेयर डा. शान्त कुमार शर्माले वर्ष २०२३/०२४ को कार्यकाल उत्कृष्ट रहेको बताए । उनले रोटरी लुम्बिनी सिद्धार्थनगरको छुट्टै पहिचान स्थापित भएको बताए ।
रोटरी डिष्ट्रिक एडभाइजर खिम बहादुर कार्कीले रोटरीको मर्मअनुसार गरिएको उत्कृष्ट कार्य उदाहरणीय रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अध्यक्ष नारायण प्रसाद भण्डारी नेतृत्वको टीमले उदाहरणीय कार्य गरेको बताए ।
रोटरी लुम्बिनी सिद्धार्थनगरका संस्थापक सदस्य डा. गोबिन्द वल्लभ भट्टले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले रोटरी लुम्बिनी सिद्धार्थनगर अझ उचाईमा पुगोस् भन्दै शुभकामना व्यक्त गरे ।
त्यसअवसरमा क्लबका अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफ्नो कार्यकालमा विशेष गरी शिक्षा, स्वास्थ्य र खानेपानीमा जोड दिए यी क्षेत्रमा कामहरु सम्पन्न गरेको बताए ।
क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘यो क्लबका प्रत्येक सदस्यहरुले गौरव गर्नुपर्छ ।’
क्लबका प्रेसिडेण्ट नोमिनी कमलराज ढकालको स्वागत तथा सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij