
आइतवार , आषाढ १७, २०८१
भैरहवा, १६ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा शनिबार गाउँपालिकास्तरीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिकाको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा एकदिने शिविर सम्पन्न भएको हो ।
शिविरमा २७५ जना स्वास्थ्य परीक्षण भएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले जानकारी दिए । उनका अनुसार शिविरमा रगत जाँच, औषधी वितरण, भिडियो एक्स–रे, ई.सी.जी, मुटु, छाती तथा दमरोग, नाक, कान, घाँटी, बालरोग, दन्तरोग, प्रसूती तथा स्त्रीरोगलगायतका सेवा उपलब्ध रहेको थियो ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले गाउँपालिकामा समयसमयमा यस्ता शिविर हुँदै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीलगायतले बोलेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij