
सोमवार , आषाढ १८, २०८१
लुम्बिनी, १७ असार ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको टोलीले बुद्व जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा सांसद् योगेश भट्टराईको नेतृत्वमा गठन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्ति दीप, मायादेवी मन्दिरको साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् ।
यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरूयोजनाका विषयमा छलफल गरिएको थियो । छलफलमा बोल्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्नुपर्ने बताए ।
उनले कोषको ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउँदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताए । उनले केञ्जो टाँगेले निर्माण गरेको लुम्बिनी गुरूयोजनाका बाँकी कामहरू सकेर गुरूयोजनालाई पनि समय अनुकुल बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी विकास कोषको वार्षिक आम्दानी निकै न्यून रहेको, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारको ध्यानआकर्षण लगराउने बताए ।
त्यसै गरी टोलिले लुम्बिनी गुरूयोजनाका काम, लुम्बिनीको विदुतीय बस सञ्चालन, विभिन्न विकास निर्माण लगायतका विषयमा चासो राखेको थियो । संसदीय टोलीसँग लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सरकारले गुरूयोजनाका लागि मात्रै त्यो पनि निकै न्यून बजेट छुटयाउने गरेको बताए । उनले लुम्बिनीसँगै प्राचीन कपिलवस्तु तिलौराकोट दरबार, अस्तुधातु रहेको रामग्राम, मावली देवदहको विकासका लमगि बजेट अभावले काम गर्न नसिकएको बताए ।
त्यस्तै लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुती राख्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भए पनि संरचना स्वीकृत हुन नसकेको बताए ।
भ्रमण टोलीममा संयोजक योगेश कुमार भट्टराईसहित प्रतिनिधि सभा सदस्यहरू अच्युत प्रसाद मैनाली, अमरेश कुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाण, मनिष झा, श्याम कुमार घिमिरे र सेराज अहमद फारुकी सहभागी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij