२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सामाजिक कार्यमा चापागाईको अग्रसरता : जन्मदिनमा रक्तदान र आश्रमलाई सहयोग

बिहिवार , आषाढ २१, २०८१

तिलोत्तमा, २० असार ।
जन्मदिन साथीभाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का मोहन चापागाईले रचनात्मक काम गरेर जन्मदिन मनाएका छन् ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी विभागीय इन्चार्ज चापागाईले आफ्नो जन्मदिन मनकारी कामका लागि उपयोग गरेका हुन् । उनले जन्मदिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग प्रदान गरेका छन् । 

अघिल्ला वर्षहरुका जन्मदिन उनले कहिले वृक्षारोपण गरेर त कहिले यस्तै आर्थिक सहयोग गरेर मनाउने गरेका थिए । यसपल्ट उनले रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग गरेका हुन् । 

गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको प्रमुख (मेयर) को उम्मेदवार बनेका उनी नेपाली काँग्रेसका रामकृष्ण खाणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईले आफूले ल्याएको मत बराबर २३ हजार ६ सय ३१ रुपैयाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै उनले रक्त सञ्चार केन्द्र बुटवलमा गई रक्तदान समेत गरेका छन् । आफूले हरेक वर्षको जन्मदिन यसैगरी मनाउने योजना बनाएको उनले बताए ।

जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो कार्य गरेको चापागाईंले बताए । ‘मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो’–उनले भने ।