
आइतवार , आषाढ २४, २०८१
भैरहवा, २३ असार ।
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन), सिद्धार्थनगर, रुपन्देहीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगर क्षेत्रमा संस्थामा आबद्ध विद्यालयहरुबाट एसईईमा सहभागी भइ उत्कृष्ट नजिता ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको हो।
शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगरप्रमुख इश्तियाक अहम्मद खाँ, उपप्रमुख उमा अधिकारी, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई खादा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सिद्धार्थनगरबाट यसपटकको एसईई परीक्षामा सिर्दिमा पन्तले ३.९६ जीपीएर ल्याएर नगर प्रथम भएकी थिइन् । त्यस्तै छात्रतर्फ दृष्टान्त रेग्मीले ३.९१ जीपीए ल्याएर नगर प्रथम भएका थिए । उनीहरु दुवै जना काशी नोबल एकेडेमीबाट एसईई दिएका विद्यार्थी हुन् । उनीहरुसँगै प्याब्सनले ३.२ भन्दा माथि जीपीए ल्याउने २१८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख खाँले नगरको शिक्षालाई सुधार गर्न सबै किसिमको पहलकदमी गरिएको जनाए । नगर उपप्रमुख उमा अधिकारीले अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी सबै जिम्मेवार भए आगामी दिनमा नगरको शिक्षा सुधार हुने जनाइन् ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, केन्द्रीय उपाध्यक्ष पन्थी, क्रिकेट संघका अध्यक्ष थापा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष आचार्य, संगठनका अध्यक्ष श्रेष्ठ, प्याब्सन सिद्धार्थनगरका सचिव राजेन्द्र घिमिरेले एसईई नतिजाले नगरको शिक्षा खस्किएको देखाएको जनाउँदै आगामी दिनमा यसलाई सबैको पहलकदमीले सुधार गर्न जरुरी रहेको जनाए ।
एसईई उत्तीर्ण विद्यार्थीहरुलाई भैरहवामै अध्ययन गर्न आग्रह गर्दै उनीहरुले उज्वल शैक्षिक भविष्यको शुभकामना दिए । एसईईमा सिद्धार्थनगरबाट १ हजार ५ सय ६१ परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये जम्मा ६९० जना मात्रै उत्तीर्ण भएका छन् । त्यसमा पनि अधिकांश निजी विद्यालयमा अध्ययनरत विद्यार्थी छन् ।
प्याब्सनका अनुसार निजीबाट ८५९ विद्यार्थीले परीक्षा दिएकामा ५५३ जना उत्तीर्ण भएका छन् । सामूदायिकबाट भने १३७ जना मात्रै उत्तीर्ण भएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । प्याब्सनमा आबद्ध २५ वटा विद्यालयमध्ये मावि कक्षा १९ वटा विद्यालयमा मात्रै सञ्चालित छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij