
आइतवार , आषाढ २४, २०८१
भैरहवा, २३ असार ।
उद्योगी–व्यवसायीले ईट्टा उद्योगहरुलाई धरासायी हुनबाट जोगाउन कर प्रणालीमा विशेष छुट एवं राहत प्याकेज कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरुले देशको वर्तमान आर्थिक परिवेशले ईट्टाको मागमा कमी आउँदा देशभरका सम्पूर्ण उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताएका हुन् ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको शनिबार भैरहवामा भएको २५ औं वार्षिक साधारणसभामा उद्योगी–व्यवसायीले आफूहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा, ब्याज चुक्ता गर्न र सरकारलाई कर बुझाउन आफ्नो जायजेथा नै विक्रीवितरण र धरौटी राख्नुपर्ने अवस्था आएको गुनासो गरे ।
कार्यक्रममा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले मागमा अत्याधिक कमी आउँदा ईट्टा उद्योगहरु हाल संकटग्रस्त अवस्थामा रहेको बताए । उनले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ सम्म रुपन्देहीमा सञ्चालनमा रहेका ५२ ईट्टा उद्योगहरुमध्ये हाल २२ वटा उद्योग सञ्चालनमा रहेको र सञ्चालित यी उद्योगहरुको वार्षिक ईट्टा उत्पादनमा ५० देखि ६० प्रतिशतसम्म कमी आएको बताए ।
उनले भने, ‘निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २/३ वर्ष अघि उत्पादित ईट्टा समेत विक्रीवितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईट्टा स्टक रहदा उद्योगी–व्यवसायीहरुमा चरम आर्थिक संकट सृजना भएको छ । यस्तो अवस्थामा उद्योगी-व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको समयमै बुझाउन सकेका छैनन् ।’
संघका महासचिव दीपक पौडेलले ईट्टा उत्पादनका लागि भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कोइलाको हाल अन्तर्राष्ट्रिय बजारमा भएको अभाव र शतप्रतिशतले मूल्यवृद्धिका साथै अन्य पेट्रोलियम पदार्थहरुको मूल्यमा वृद्धिका कारण ईट्टाका उत्पादन लागतमा करिब ४० देखि ५० प्रतिशतसम्म वृद्धि भएको र यसको मागमा कमी हुँदा उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए । उनले ईट्टा उद्योगको संरक्षणका लागि लागि तीनै तहका सरकारले कर प्रणालीमा विशेष छुट एवं राहत प्याकेज ल्याउन माग गरे ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले सञ्चार क्षेत्रले ईट्टा उद्योगको समस्या उठान गर्दै आएको बताइन् । उनले ईट्टा उद्योगीहरु विभिन्न क्षेत्रको नेतृत्व तहमा पुगेकाले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताइन् ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले कोइलाको मूल्यवृद्धि, मजदूरको अभाव, बढ्दो बैंक ब्याजदरलगायतका समस्याले ईट्टा उद्योग संकटमा परेको बताए ।
नेपाल ईट्टा उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार सफर मियाले ईट्टा उद्योग असहज परिस्थितिबाट गुज्रिएको बताए । उनले प्रविधिको विकाससँगै उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले राज्यले उद्योग व्यवसाय सञ्चालनका लागि वातावरण बनाउनुपर्ने बताए । उनले माटो भस्कट पाउन समस्या रहेको बताए । उनले भने, ‘उद्योगी-व्यवसायी टिक्ने अवस्थामा छैनौ ।’
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठकले ईट्टा निर्माण कार्यका लागि नभइ नहुने वस्तु भएको बताए ।
नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार हरि प्रसाद अधिकारीले सरकारले के हेरेर बसेको भन्दै प्रश्न गरे । उनले भने, ‘उखु किसानले भुक्तानी देउ भनेर लडिरहनुपरेको अवस्था छ, केही यही लोकतन्त्र हो । ’
सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेको अधिकारीले परिस्थिति कठिन भयो भनेर भाग्न नहुने र परिस्थितिसँग जुध्दै अघि बढ्न आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई बैंकको किस्ता र ब्याज तिर्न समस्या भएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँले माटो भस्कटको समस्या समाधन गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारबाट हुने सहयोगका लागि तयार रहेको बताए । उनले भने, ‘व्यवसायीले पनि केही कुरा सुधार गर्नुपर्छ । पहिला हामी इमान्दार हुनुपर्छ अनि सरकारसँग आफ्ना मागहरु पूरा गराउन सक्छौं ।’
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दीन खाँको प्रमुख आतिथ्यता, संघका प्रथम उपाध्यक्ष अजय अधिकारीको स्वागत तथा महासचिव दीपक पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij