२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु गर्‍यो व्यवसायिक उत्पादन

सोमवार , आषाढ ३२, २०८१

भैरहवा, ३१ असार । 
रुपन्देहीको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा आफ्नो उद्योग स्थापनासँगै इको नेपाल इनर्जी इन्डष्ट्रिज प्रा.लि.ले व्यवसायिक उत्पादन सुरु गरेको छ । औद्योगिक क्षेत्रमा फरक उदाहरणसहित पर्यावरण संरक्षणमा विशेष टेवा पुग्ने गरी रबरजन्य फोहरलाई पुनः प्रयोग गरी नयाँ उत्पादन गर्दै आएको छ । 

रोहिणी गाउँपालिका–१ स्थित सेजभित्र रहेको यस उद्योगले स्थानीय कच्चा पदार्थमा आधारित फोहर र खेर गइरहेका रबरजन्य वस्तुहरु संकलन गरी औद्योगिक तेल, ब्ल्याक कार्बन तथा स्टिल तारहरु उत्पादन गर्दै आएको प्रा.लि.का अध्यक्ष अजयमान श्रेष्ठले बताए । यहाँ उत्पादन हुने फर्नेस आयल अर्थात पाइरोलाइसिस आयल सडक निर्माण, बिस्कुट उद्योग, सिमेन्ट कारखाना, स्टील कारखाना, सेरामिक उद्योग, ईट्टा कारखाना, हटवाटर जेनरेटर, हट एअर जेनरेटर आदिमा उपयोग हुँदै आएको श्रेष्ठले बताए । 

यसबाहेक प्रशोधनका क्रममा निस्कने बाइप्रोडक्टहरु ब्ल्याक क्याट ब्राण्डको ब्ल्याक कार्बन र स्टील तारहरु अन्य उद्योगहरुका लागि कच्चा पदार्थका रूपमा उत्पादन गर्दै आएको उनले बताए । उद्योगले आर्थिक लाभ मात्र नभई पर्यावरण संरक्षण तथा फोहर व्यवस्थापनमा समेत सहयोग गरेको श्रेष्ठको दावी छ ।

हाल ५० जनालाई प्रत्यक्ष तथा २ सय जना बढीलाई अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गरिहेको उद्योगको क्षमता निकट भविष्यमै वृद्धि गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘रोजगार सिर्जना मात्र होइन, काम नलाग्ने भनेर फालिएका गाडीका टायर, ट्युब जस्ता रबरजन्य फोहर बस्तुलाई पुनः प्रयोग गरेर पर्यावरण सफा राख्न टेवा पुगेको छ ।’–उनले भने । 

सेजभित्र ११ हजार ५६९ दशमलव ५ स्क्वायर मिटर क्षेत्रफलमा अवस्थित उद्योगमा प्रतिदिन १० हजार लिटर तेल उत्पादन गर्न सक्ने २ वटा प्लाण्ट जडान गरिएको छ । उद्योगबाट उत्पादन हुने तेल साना–ठूला उद्योगहरु, रोड कन्सट्रक्सन आदिमा प्रयोग हुँदै आएकाले बजारको समेत समस्या नभएको उद्योगी श्रेष्ठ बताउँछन् । यसको गुणस्तर बजारमा पाइने अन्य फर्नेस आयल र हल्का डिजल भन्दा कम नभएको उनको दावी छ । बजारमा पाउने अन्य उत्पादन भन्दा यस उद्योगको उत्पादन मुल्यका हिसाबले समेत सस्तो पर्न जाने उनको दावी छ । 

उद्योगले उत्पादनका क्रममा उत्सर्जन हुने फोहरलाई समेत कम गर्न अत्याधुनिक मेशिन जडान गरेको छ । उक्त मेशिनको सहायताले फोहर मिश्रित कणहरुलाई पानीबाट अलग गरी उक्त पानीलाई पुनः प्रयोग गर्न सकिने बनाउछ । उक्त प्लाण्टको जडानसँगै उद्योगबाट कुनै पनि प्रदुषित पानी वा वायु उत्सर्जन नहुने दावी गरिएको छ । 

त्यसै गरी उद्योगमा कार्यरत कर्मचारीहरुको सुरक्षालाई समेत विशेष ध्यान दिइएको छ । उत्पादनको दौरानमा मानवीय कमजोरी, हेलचेक्र्याइ वा विद्युत सर्ट सर्किटबाट प्लाण्टमा अत्यधिक ताप प्रसार भई हुन सक्ने विष्फोट वा आगलागी जस्ता खतराबाट बच्न पिएलसी बेस प्लान जडान गरिएको छ । यसबाट सम्भावित खतरामा अटोमेटिक आलाराम वा हुटर बजेर अप्रेटर र सम्बन्धित कर्मचारीहरुलाई अलर्ट गर्ने आधुनिक प्रविधि जडान गरिएको छ । यसको सन्देश मोबाइलमा समेत बज्ने प्रणालीको व्यवस्थाले उद्योगको सुरक्षा व्यवस्था अझै प्रभावकारी हुने दावी गरिएको छ ।

इको नेपालले जस्तै अन्य निजी क्षेत्रहरु समेत लगानीका लागि तत्पर भए पनि सरकारले सो अनुसारको वातावरण निर्माण गर्न नसकेको उद्योगी श्रेष्ठ बताउँछन् । वर्गीकृत आधारमा उद्योगहरुको विकास गर्न आवश्यक वित्तीय व्यवस्थापनमा सरकार, निजी क्षेत्र, घरेलु बैंकहरुका बीचमा समन्वय र प्रतिवद्वता आवश्यक रहेको उनको तर्क छ ।

WhatsApp Image 2024-07-15 at 7.09.35 AM.jpeg

आयातित वस्तुहरुसँग स्वदेशी उत्पादनहरुलाई सक्षम, प्रतिष्पर्धी बनाउन सरकारले प्रतिस्पर्धात्मक क्षमतामैत्री नीति बनाउनुपर्ने उनको सुझाव छ । त्यसै गरी रुग्ण उद्योगको स्पष्ट परिभाषा र तदनुसार उद्वारका उपायको व्यवस्था गर्नुपर्ने उनले बताए ।