
बुधवार , श्रावण २, २०८१
काठमाडौं, २ साउन ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न आग्रह समेत गरे ।
निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोज्ने उनले बताए ।
उनले पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको भन्दै यसमा ध्यान केन्द्रीत हुने जिकिर गरे । मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए ।
त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार राष्ट्र बैंकलाई रहेको भन्दै उहाले मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन हुने विश्वास व्यक्त गरे ।
सो क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरि अघि बढ्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नका लागि सबै सरोकारवाला सम्मीलित आयोग बनाउनुपर्ने सुझाव समेत दिए ।
ढकालले नयाँ सरकार बनेसँगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास समेत व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij