२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगरप्रमुखको निर्देशन

बुधवार , श्रावण २, २०८१

बुटवल, २ साउन ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार महाशाखा, शाखा प्रमुख र वडा सचिवहरुसहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेस्रो चौमासिक सुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए ।

उनले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । ‘गत आर्थिक वर्षमा केही सुधार भएको छ, उनले भने–यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नुपर्छ ।’

उनले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिए । उनले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिए ।
‘कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन–उनले भने–त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न ।’

उनले सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानूनहरुलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न आग्रह गरे । ‘जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानून र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम गर्नुस्–उनले कर्मचारीलाई भने–काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन ।’

उनले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । ‘काम नगरिदिने र प्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई दोषी देखाउने वा तर्किने काम नगर्नुहोला, उनले कर्मचारीलाई सचेत बनाउँदै भने–काम गर्ने विधि, तरिका र कानुनबारे थाहा नभए आफूभन्दा माथिल्लो अधिकारीलाई सोध्नुस्, तालिम लिनुस् ।’

कार्यक्रममा नगर उपप्रमुख सावित्रादेवी अर्यालले सेवा प्रवाहलाई स्तरीय बनाउदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गरिन् । उनले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवा प्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गरे ।

त्यस्तै बुधबार नै बुटवल उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई बुटवल नगरलाई सफा र सुन्दर बनाउने गरी काम गर्न नगरप्रमुख खेलराज पाण्डेयले निर्देशन दिएका छन् ।

सरसफाइकर्मीसँगको छलफलका क्रममा पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्न सरसफाइकर्मीको भूमिका प्रमुख हुने बताए । उनले सरसफाइकर्मीका समस्याहरुको समाधानमा कार्यालयले तत्काल चासो दिन प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई निर्देशन दिए । उनले सरसफाइकर्मी फिल्डमा खटिँदा कार्यालयले दिएको पोशाक र सावधानीका उपाय अपनाउन आग्रह गरे ।