
शनिवार , श्रावण ५, २०८१
बुटवल, ५ साउन ।
रोटरी क्लब अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । क्लबको २११ औं नियमित बैठकको क्रममा शनिबार सदस्यहरुका लागि अभिमुखीकरण गरिएको हो । क्लबमा केही दिनअघि मात्रै ३७ जना नयाँ सदस्यहरुको इन्डक्सन गरिएको थियो ।
रोटरी क्लब अफ बुटवलका पूर्वअध्यक्ष तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक चेअर राजेन्द्र लम्सालले नयाँ सदस्यलाई अभिमुखीकरण प्रदान गरेका हुन् । त्यसअवसरमा उनले रोटरी स्थापनाको उद्देश्य, रोटरीले गर्दै आएका कामहरु र अन्तर्राष्ट्रियस्तरमै रोटरीले पारेको प्रभावका विषयमा प्रकाश पारेका थिए ।
अन्तर्राष्ट्रिय रुपमै रोटरीको प्रतिष्ठा उचो रहेको र रोटरीयनलाई हेर्ने दृष्टिकोण फरक हुने गरेको भन्दै उनले रोटरीले व्यक्तिको व्यक्तित्व विकासका साथै पेशागत र व्यवसायिक हितको पनि प्रवद्र्धन गर्ने बताए । उनले रोटरीले सञ्चालन गर्ने परियोजनामार्फत समुदायमा ठूलो लगानी भित्र्याउन सकिने पनि बताए ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले रोटरीमा नयाँ सदस्य भित्र्याउने भन्दा उनीहरुलाई टिकाउनु धेरै चुनौतीपूर्ण रहेको भन्दै यसका लागि क्लबको नेतृत्वले सबै रोटरीयनलाई हरेक गतिविधिमा संलग्न गराइराख्नुपर्ने बताए । रोटरीप्रति सबैको अपनत्व जगाउन सके मात्र रोटरीयनहरु आकर्षित हुने र क्लबमा टिकिरहने उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष नुमेन्द्र पौडेल, क्लबका संस्थापक अध्यक्ष वष्णु घिमिरे, कपिल पोखरेल लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij