२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

जनताको साथ लिएर विकासका काम अघि बढाउनुपर्छ : महेश बर्तौला

सोमवार , श्रावण ७, २०८१

काठमाडौं, ७ साउन ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले स्थानीयलाई साथमा लिएर विकासका काम अघि बढाउन काठमाडौं महानगरलाइ सुझाव दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्ने भन्दै स्थानीय जनताको साथमा विकासका काम अघि बढाउन उचित हुने बताएका हुन् ।

तीन तहका सरकारको आ–आफ्ना दायित्व भएको भन्दै उनले सबै तहका सरकारले जिम्मेवारीपूर्वक जनताको हितका लागि काम गर्नुपर्ने बताए ।

काठमाडौंको न्यूरोड फुटपाथ विस्तारका विषयमा मेयर र वडाध्यक्षबीचको विवाद संसदले नभइ महानगरले नै मिलाउनुपर्ने उनको भनाइ छ । उनले स्थानीय सरकारको विकास निर्माणका काममा केन्द्र सरकारले हस्तक्षेप नगर्ने धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका विषयमा अदालतले दिएको आदेश कार्यान्वयन गर्न केन्द्र सरकारले पनि महानगरलाई सहयोग गर्नुपर्ने बताए ।

उनले धेरै महानगरपालिकाका सडकहरुको निर्माणको जिम्मेवार सम्बन्धीत स्थानीय तहलाई दिनुपर्ने उल्लेख गरे ।