२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२३ बुँदे माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगरले बुझायो ज्ञापनपत्र

बुधवार , श्रावण ९, २०८१

भैरहवा, ९ साउन । 
नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगर नगर समिति, रुपन्देहीले विभिन्न २३ बुँदे माग राख्दै सिद्धार्थनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । संगठनले मंगलबार नगरप्रमुख इश्तियाक अहमद खाँ र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव चेतनशील लम्साललाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्णय अनुसार पालिकास्तरमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूका मागमा आधारित २३ बुँदे ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत सिद्धार्थनगरमा बुझाइएको राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगर नगर समितिका सचिव भरत गिरीले बताए । 

संगठनको सिद्धार्थनगर नगर समितिका अध्यक्ष पवित्रा कोइराला र सचिव भरत गिरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षक एवं कर्मचारीका संविधान प्रद्वत ट्रेड युनियन अधिकार र मानव अधिकार हननका कार्यहरु भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ । 

संगठनले माध्यमिक तहसम्मको शिक्षा तीनै तहको सरकारको दायित्व भित्र रहनुपर्ने, गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय लगानीको सुनिश्चित हुनुपर्ने, माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गरिनुपर्ने र त्यसका लागि विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दी, कर्मचारी व्यवस्थापन, विद्युत, टेलिफोन, इन्टरनेट, खानेपानी, मर्मत सम्भार, पूर्वाधार विकास, शैक्षिक सामग्री व्यवस्थापन लगायत विद्यालयमा हुने सम्पूर्ण शिर्षक अन्तर्गतका खर्चलाई व्यवस्थापन गर्न आवश्यक रकमको व्यवस्थापन हुनुपर्ने, शिक्षामा आमूल सुधारको लागि तीनै तहको सरकारले बजेटको कम्तीमा २० प्रतिशत लगानी शिक्षामा गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै स्थानीय तहले आफूखुसी शिक्षासम्बन्धी नियम तथा कार्यविधि जारी गर्दा पालिका पिच्छे फरकफरक नीतिनियम हुने र शिक्षक कर्मचारीहरुमा अन्यायपूर्ण व्यवहार भइरहेको हुँदा संघीय ऐनसँग बाझिने गरी स्थानीय कानूनको व्यवस्था नगर्न, नगराउनहुने, पूर्व प्राथमिक शिक्षक र विद्यालय कर्मचारीहरुको समयसापेक्ष महंगीको आधारमा सामान्य परिवारको जीवन निर्वाह हुन सक्ने गरी तलबभत्तामा वृद्धि गरिनुपर्ने, कक्षा ५ सम्मका बालबालिकाहरुलाई प्रदान गरिदै आएको खाजा रकम रु. १५ अत्यन्त न्यून भएका कारण कम्तीमा दैनिक रु. ५० शुल्क गराउनुपर्ने साथै उक्त कार्यक्रमलाई क्रमशः मा.वि. तहसम्म खाजाको व्यवस्था विस्तार गर्दै जानुपर्ने संगठनको माग छ ।

त्यसै गरी शिक्षा ऐन नियममा भएको प्रष्ट व्यवस्था र विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्र प्रतिकूल हुने गरी जारी गरिएको शिक्षक सरुवा निर्देशिका खारेज गर्नुपर्ने, राजनैतिक अधिकारसहित ट्रेड युनियन अधिकारको प्रत्याभूति हुनुपर्ने, शिक्षक कर्मचारीहरुमाथि विभिन्न नाममा कारवाही गर्ने अनावश्यक प्रोप्रोगन्डा बन्द गरिनुपर्ने, शैक्षिक गुणस्तर सुधारमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने र विद्यालयमा निजी श्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुले राष्ट्रिय तहगत तलब स्केल अनुसार तलब भत्तासहित सम्पूर्ण दायित्व स्थानीय सरकारले लिनुपर्ने लगायतको माग संगठनले राखेको छ ।

d3f798d2-1265-4333-bf62-633be8b43ef0.jpeg
2e0af9e3-4ca3-47f6-bfb6-458d640a601b.jpeg

संगठनले राखेका मागहरु यथाशिघ्र सम्बोधन हुने अपेक्षा गरिएको र माग पूरा नगरिए कडा आन्दोलनका कदमहरु अगाडी बढाउन बाध्य हुने नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगर नगर समितिका सचिव भरत गिरीले बताए ।