२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विकासका लागि एकै ठाउँ उभिने दाङका चार पालिकाको निर्णय

सोमवार , श्रावण १४, २०८१

दाङ, १४ साउन । 
दाङका चार स्थानीय तह (पालिका) ले विकासका लागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकाले विकासका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् ।

सोमबार तुलसीपुर उपमहानगरको अगुवाइमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगरप्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगिशरणका अध्यक्ष शम्भु गिरी, शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत र बबईका अध्यक्ष कुलबहादुर केसी सदस्य रहेको अन्तरपालिका समन्वय समिति गठन गरेको तुलसीपुर उमहानगरका प्रेस संयोजक गणेश आचार्यले जानकारी दिए ।

समन्वय समितिको सदस्य सचिवमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी रहेक छन् र तुलसीपुरदेखी पश्चिम क्षेत्रको विकास लागि चारवटा पालिकालाई एकैठाउँमा उभ्याइएको तुलसीपुरका नगरप्रमुख खड्काले जानकारी दिए । साथै समन्वय समितिको पहिलो बैठकले चारवटा पालिकामा आवश्यक विकासका लागि हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बैठकले टरीगाउँ विमानस्थल विस्तारका लागि भदौको पहिलो साता नेकप एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसहितको सहभागीतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।

त्यसै गरी आगलागी नियन्त्रणका लागि अत्याधुनिक प्रविधिको दमकल खरिदमा साझेदारी गर्ने, तुलसीपुरमा अत्याधुनिक बधशाला निर्माणमा सहकार्य गर्ने र तुलसीपुर, दंगिशरण, शान्तिनगर बबईको जिला भर्‍याङठुटी हुँदै पूर्व पश्चिम राजमार्गको ठुरे जोड्ने सडक निर्माण तथा स्तरोन्नतिका लगि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ । 

बैठकमा दंगिशरण, शान्तिनगर र बबईका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको समेत सहभागीता थियो ।