२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

रोटरी तिलोत्तमाद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर, ६ सय बढी लाभान्वित

शनिवार , श्रावण १९, २०८१

  • 952
    Shares
  • 952
    Shares
  • बुटवल, १९ साउन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सियारी गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम भएको छ । एडमन सिटी अस्पतालको प्राविधिक सहयोगमा शनिबार सियारी–४ छपियास्थित पब्लिक माध्यमिक विद्यालयमा भएको शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका थिए ।

    शिविरको ९० वर्षिया सुर्यकला सुवेदीको स्वास्थ्य परीक्षण गरी सुरु भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले स्वास्थ्य शिविरको आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिदै निरन्तर रुपमा सामाजिक कार्यमा लाग्न आग्रह गरे ।

    सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले गाउँपालिकाबासीको स्वास्थ्यप्रति पालिका सचेत हुनुका साथै आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । त्यस्तै क्लबका अध्यक्ष देवीराम पाण्डेले मानिसको सबैभन्दा ठूलो धन भनेको नै स्वास्थ्य भएकाले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । अध्यक्ष पाण्डेले क्लबले स्थापनादेखि नै विभिन्न सामाजिक कार्यक्रमको गर्दै आएको बताए । उनले आगामी दिनमा पनि अझ प्रभावकारी र व्यवस्थित रुपमा क्लबको गतिविधिलाई अघि बढाउने बताए ।

    एडमण्ड सिटी अस्पतालका व्यवस्थापक मुक्ति काफ्लेले स्वास्थ्य शिविरमा चेकजाँच गर्दा स्वास्थ्यमा समस्या देखिए त्यस्ता बिरामीलाई ओपिडी टिकट निःशुल्क गर्नुका साथै अन्य सेवामा पनि छुट दिइने बताए ।

    शिविरमा जनरल फिजिसियन चिकित्सक एवं रोटरी क्लब तिलोत्तमा रुपन्देहीका सदस्य डाक्टर नन्दु पाठक, स्त्री तथा प्रसुति रोग विशेषज्ञका डा. सतिष रुपाखेती, हाडजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. प्रकृतिराज कंडेल, पेट, छाती मुटुरोग विशेषज्ञ एवं जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गुप्ता लगायतले बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए ।

    शिविरमा सर्जरी, भिडियो एक्स–रे, बालरोग, जनरल फिजिसियन, दन्तरोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग लगायतको स्वास्थ्य परीक्षण गरिएको क्लबका सचिव अर्जनु प्रसाद आचार्यले बताए ।

    सियारी गाउँपालिकाको सहयोगमा भएको शिविरमा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ शुद्धोधन र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह सह–आयोजकको थिए ।