२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बुटवलमा गुणस्तर मापदण्ड भन्दा विपरीत दुध विक्री

सोमवार , श्रावण २१, २०८१

बुटवल, २१ साउन ।  
शिशुदेखि वृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्टिक तत्वको लागि दुधको सेवन गरिन्छ । तर, यही दुधमा व्यवसायीले अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा विपरीत बुटवलको बजारमा दुध विक्री हुने गरेको खुलासा भएको छ । 

सरकारले भैसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत, एस.एन.एफ. ८, गाईको दुधमा ३.५ प्रतिशत फ्याट, एस.एन.एफ. ७ र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एस.एन.एफ.को मात्रा ८ तोकेको छ । तर, बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दुध विक्रीवितरण हुने गरेको पाइएको छ । 

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाइएको हो  ।  

अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्ने सहकारी  र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको प्रयोगशालामा परीक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादवले जानकारी दिए । दुधबाट फ्याटको मात्र झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको उनले जानकारी दिए । 

दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ । बुटवलमा विक्रीवितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा विपरीत पाइए तत्काल कारवाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । 

व्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा विपरीत दुध बेचेको पाइए तत्काल कारवाही गरिने उनले बताइन् । उपमहानगरपालिकाले मापदण्ड भन्दा विपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था रहेको उपप्रमुख अर्यालले जानकारी दिइन् ।

WhatsApp Image 2024-08-05 at 4.34.07 PM.jpeg