
मंगलवार , श्रावण २९, २०८१
भैरहवा, २९ साउन ।
अमेरिकामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न जान लागेका रुपन्देहीको मायादेवी गाउँपालिका–८ का प्रशान्त काफ्लेलाई बिदाई गरिएको छ । फ्युचर लाईट इङलिस हाई स्कूल मायादेवी–८, रुपन्देहीले सोमबार एक कार्यक्रमकाबीच काफ्लेलाई बिदाई गरेको हो ।
फ्युचर लाईटका पूर्व विद्यार्थी काफ्ले हेल्थ डाटा साईन्स (चौथो वर्ष) मा अध्ययनका लागि यही साउन ३१ गते अमेरिका प्रस्थान गर्दैछन् । कक्षा नर्सरीदेखि नै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न सफल काफ्ले उच्च शिक्षा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने भएपछि विद्यालय अझ खुसी भएको छ ।
विद्यालयका प्राचार्य गम्भिर गुरुङले गत वर्ष पूर्व विद्यार्थी राहुल गुप्ता पनि छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका गएको र यस वर्ष प्रशान्त काफ्ले जान लागेको बताए । उनले जहाँ गए पनि आफ्नो जन्मभूमिलाई नबिर्सन आग्रह गरे । उनले भने, ‘जहाँ गए पनि आफ्नो गाउँ, ठाउँ, विद्यालय र देशलाई बिर्सनुहुँदैन । प्रशान्त काफ्लेले भविष्यको सपना साकार पार्न चालेको पाइलामा सफलता पाउन् भनी शुभकामना व्यक्त गर्दछु ।’
काफ्लेले २०७६ सालमा आफूले फ्युचर लाईटबाटै एसईई परीक्षा उत्तीर्ण गरेको जानकारी दिए । त्यस्तै कक्षा ११ र १२ मा न्यू होराइजन बाट उत्तीर्ण गरेको उनले बताए । २१ वर्षिय काफ्लेले भने, ‘म आर्थिक अवस्था कमजोर भएको परिवारको भए पनि हार कहिल्यै मानिन् । सफल हुन आत्मविश्वास र आँट जरुरी हुँदो रहेछ । शिक्षक र अभिभावकहरुको सहयोगकै कारण आज यहाँसम्म आइपुगेको हुँ । ’
मिहिनेत गरे अवसर अवश्य नै पाइने र एकपटक असफल हुँदैमा निराश हुन जरुरी नरहेको उनको भनाइ छ । उनले भने, ‘मेरो दोस्रो अभिभावक मेरा शिक्षकशिक्षिका हुनुहुन्छ । उहाँहरुको योगदान म कदापी बिर्सन सिक्दन । फ्युचर लाईटले ममाथि गुन लगाएको छ । भविष्यमा त्यो गुन तिर्ने प्रयास गर्नेछु । ’
त्यस्तै लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले विद्यार्थीले आफूले आफैलाई चिन्नुपर्नेमा जोड दिइन् । उनले विद्यार्थीको सफलतामा शिक्षकहरुले गर्व गर्ने बताए । उनले प्रशान्त काफ्लेको सफलताबाट अन्य विद्यार्थीलाई प्रेरणा मिल्ने बताइन् । उनले भनिन्, ‘प्रयास गर्न छोडनुहुँदैन । ’
कक्षा १० का विद्यार्थी प्रेम क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij