२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवाको सभा गृह संरक्षण गर्नुपर्ने सिद्धार्थ सञ्जालको माग

मंगलवार , श्रावण २९, २०८१

भैरहवा, २९ साउन ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवाको गणतान्त्रिक सभा गृह जीर्ण अवस्थामा रहेकोले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्ने माग राखेको छ । सञ्जालले मंगलबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँलाई ध्यानाकर्षण–पत्र बुझाउँदै सिद्धार्थनगर नगरपालिका–१३ स्थित सभा गृह यथाशिघ्र रंगरोगन, मर्मतसम्भार गरी संरक्षण गर्न आग्रह गरेको छ ।

सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले सिद्धार्थनगर नगरपालिकाले जे जस्तो शर्त राखेर सभा गृह लिजमा दिएता पनि यसको संरक्षण गर्न आग्रह गरे । त्यस्तै सञ्जालले सिद्धार्थनगर–९ मा रहेको अटोभिलेज तत्काल सञ्चालनमा ल्याउन नगरपालिकासँग आग्रह गरेको छ ।

त्यसै गरी सिद्धार्थनगर–५ र १३ को हाटबजारमा निर्माणसम्पन्न भएको व्यवसायिक भवनलाई उद्देश्यअनुरुप कार्यान्वयनमा ल्याउन सञ्जालको आग्रह छ ।
बुटवल–बेलहिया सडक अन्र्तगत सिद्धार्थनगर आँखा अस्पताल चोकमा अत्यधिक सवारी दुर्घटना भइरहेकोले दुर्घटना न्यूनीकरण गर्न उक्त चोकमा डिभाईडर लगाउन पहल गरिदिन सञ्जालले नगरपालिकासँग आग्रह गरेको छ ।

भैरहवास्थित सिद्धार्थ बसपार्कबाट नै सम्पूर्ण यात्रुबाहक बसहरु आगमन र प्रस्थान हुनुपर्ने सञ्जालले माग गरेको छ । सञ्जालले भैरहवामा यात्रुबाहक बसको आगमन र प्रस्थान विन्दु सिद्धार्थ बसपार्क नै हुनुपर्ने माग गरेको हो ।

यात्रुबाहक बसहरु सिद्धार्थ बसपार्कलाई केन्द्रबिन्दु गराइ प्रस्थान र आमगन नगरी लुम्बिनी जाने बसहरु लुम्बिनी गेट अगाडीबाट र परासी जाने बसहरु यति होटलको अगाडीबाट र अन्य स्थानमा जाने बसहरु बेलहिया सडकबाट जाँदा ट्राफिक जाम भइ आवातजावतमा समस्या हुने गरेको सञ्जालको भनाइ छ । 

त्यसै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित स्वर्गद्वारी घाटको शवदहन मेसिन जीर्ण अवस्थामा रहेकोले छिटो भन्दा छिटो यसको मर्मतसम्भार गर्नुपर्ने माग गरेको छ ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सभा गृह भैरहवाको गहना भएकोले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘नगरपालिकाले नगरको सम्पत्तिको संरक्षण गर्नुपर्छ । ’ उनले नगरमा सडकको दुवै साईडमा सवारीसाधन पार्किङ गरिदा सवारी दुर्घटनाको जोखिम बढेको बताए ।

सञ्जालका महासचिव मधु प्रसाद पन्थी, कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक) लगायतले सञ्जालले उठाएका माग तथा विषयहरु गम्भिरताकासाथ लिइ यथाशिघ्र आवश्यक कदम चाल्न नगरप्रमुख खाँलाई आग्रह गरे ।

ध्यानाकर्षण–पत्र बुझेपछि नगरप्रमुख खाँले सञ्जालले महत्वपूर्ण र जायज माग उठाएको बताए । उनले नगरको विकासका लागि साथ, सहयोग र सल्लाह–सुझाव आवश्यक रहेकोमा जोड दिए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सुधार गर्नुपर्ने कुरामा नगरपालिकाले ध्यान दिने बताए ।