
बुधवार , श्रावण ३०, २०८१
भैरहवा, ३० साउन ।
रुपन्देहीमा ३५ वर्षअघि सजाय तोकिएका अभियुक्तसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसला अनुसार कैद तथा जरिवाना सजाय भुक्तान नगरी फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले पक्राउ परेका फरार प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए । डीएसपी भट्टका अनुसार पक्राउ पर्नेमा ३५ वर्षअघि गरिएको फैसला अनुरूप कैद तथा सजाय भुक्तान गर्नुपर्नेदेखि १२ वर्षअघि गरिएको फैसलासम्मका फरार प्रतिवादी छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको विभिन्न युनिटद्वारा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीकाअनुसार ईलाका प्रहरी कार्यालय रुद्रपुरले रुपन्देहीको टोलीले कञ्चन गाउँपालिका–३ का देवबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको छ ।
उनलाई २०४६ साल चैत ३ मा रुपन्देही जिल्ला अदालतले सरकारी जग्गा आवाद मुद्दामा ३ हजार ८ सय ६१ रुपैयाँको जरिवाना फैसला गरेको थियो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय धकधईले ओमसतिया गाउँपालिका–५ बस्ने महेशकुमार चाईलाई पक्राउ गरेको छ । उनलाई जिल्ला अदालतले २०६९ जेठ २३ गते कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद सजायको फैसला गरेको थियो ।
त्यसै गरी प्रहरी चौकी खैरेनीले बिगो मुद्दामा २०५० माघ २७ गते १ हजार रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका–१२ बस्ने पूर्णबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
२०५० माघ २७ को फैसलाले गाली बेइज्ज्ती मुद्दामा १ हजार रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका–६ का शेरबहादुर थापा पनि पक्राउ परेका छन् । सोही मितिमा चोरीसहित अन्य मुद्दामा ६ सय ७३ रुपैयाँ जरिवाना फैसला भएका देवदह–३ का माइला र २०४७ साल साउन ३० गते चोरी अन्य मुद्दामा ६ सय ७३ रुपैयाँ जरिवाना फैसला भएका देवदह–३ का मानबहादुर मगर पनि पक्राउ परेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij