२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका स्थानीयले उठाएका समस्या कार्यतालिका बनाएर सम्बोधन गर्ने कोषको प्रयास

बिहिवार , श्रावण ३१, २०८१

भैरहवा, ३१ साउन ।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्यसम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ ।

लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धचरण) को अध्यक्षतामा लुम्बिनी बचाऔं महाअभियान र लुम्बिनी होटल संघ नेपालसहित सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरी कोषले माग सम्बोधन गर्ने भएको हो ।

स्थानीयहरुसँग कोभिड पछाडि बन्द रहेको लुम्बिनी संग्राहलय असोज १ गतेबाट सबैका लागि खुला राख्ने, मायादेवी मन्दिरको स्वरुप परिवर्तन र  पुर्नसरचना गर्न नपाइने, स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत संरक्षण शुल्कको १० प्रतिशत स्थानीय पालिकासँग सहकार्य र साझेदारी गर्न  संयुक्त कार्यविधि बनाउने,  मोनाष्ट्री र होटल व्यवसायी र अन्य सरोकारवाला संलग्न रहेको कार्यविधि निर्माण गर्ने एक कार्यदल बनाउने,  मायादेवी प्रवेश शुल्कबारे सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने लगायतका बिषय रहेको  छ । त्यसै गरी कतिपय नीतिगत सुधारका पक्षमा कोषको परिषद बैठकमा प्रस्ताव लैजाने पनि संघर्षरत पक्षसँग कोषले सहमति गरेको छ ।

स्थानीय लुम्बिनी बचाऔं महाभियान र लुम्बिनी होटल संघ, नेपालले विभिन्न मागहरु राखेर कोषमा धर्ना र तालाबन्दी समेतका आन्दोलनका कार्यक्रमहरु भएका थिए । 
कोषले गत जेठ महिनामा कोषाध्यक्ष ढुण्डिराज भटराई (सिद्धिचरण) को संयोजकत्वमा सरोकारवाला र लुम्बिनी साँस्कृतिक नगरपालिका समेत रहेको कार्यदल बनाएको थियो  । उक्त कार्यदलले दिएको १२ बुँदे तत्काल कार्यन्वयन गर्न सकिने सवालहरु यकिन गरेर कोषलाई सिफारिस समेत गरेको थियो ।

त्यसै गरी लुम्बिनी होटल संघ र लुम्बिनीस्थित बौद्ध बिहारहरुले गेष्ट हाउस चलाएको भन्ने विषयमा विवादहरु उत्पन्न भएकोमा एक संयुक्त अध्ययन कार्यदलले समेत प्रतिवेदन दिएको थियो । ती सवाललाई कार्यन्वयन गर्ने बिषयमा कार्यवाहक उपाध्यक्ष समेत रहेका भट्टराईले साउन २३ गते कोषका सदस्य सचिव, योजना प्रमुख तथा शाखा प्रमुखहरुलाई राखेर कोषको स्पष्ट धारणा तयार गर्न निर्देशन दिएका थिए । 

बुधबार बसेको कोष र होटल व्यवसायीसँगको बैठकले विहार गुम्बा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने समझदारी बनेको हो  । कोषका सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईको संयोजकत्वमा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी गुरुयोजना भित्रका विहार गुम्बाहरुको समिति लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, जिल्ला प्रशासन कार्यालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रतिनिधि रहने गरी ९ सदस्यीय कार्यदल बनेको छ ।

छलफलबाट प्राप्त सुझावलाई आधार बनाएर सदस्य सचिवले कार्यसम्पादन तालिका तयार गरी अनुमोदन गरी आन्दोलनरत पक्षसंग सहमति लिन अलगअलग चरणबद्ध बैठकहरु गरिएको थियो ।

बैठकपछि स्थानीयहरुसँगको सहकार्य र सहमतिले लुम्बिनीको विकासमा सकारात्मक परिवर्तन ल्याउने आशा जागेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । भएका कार्यसम्पादन तालिका र सहमतिका बुँदाहरुलाई कोषले इमान्दारीपूर्वक कार्यान्वयन भएमा स्थानीय जनतामा कोषप्रति विश्वास जागृत हुने लुम्बिनी बचाऔं अभियानका संयोजक अकरमुद्दीन खाँले बताए ।

त्यसै गरी लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले भएका सहमतिले सबै पक्षलाई फाइदा पुग्ने भएकोले कार्यान्वयन उद्देश्यपरक हुनुपर्ने बताए ।