२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सामाजिक सञ्जाल नियमन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरक्रिया

शुक्रवार , श्रावण ३२, २०८१

रूपन्देही, ३२ साउन ।
सामाजिक सञ्जाल नियमन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरोकारवालाहरुसँग रुपन्देहीको बुटवलमा अन्तरक्रिया गरिएको छ । डिग्नीटी इनिसियटिभको आयोजनामा बिहीबार सामाजिक सञ्जालको प्रयोग, यसको नियमनका लागि सरकारले गरेका प्रयास एवं नियमन गर्दा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने असरका विषयमा अन्तरक्रिया गरिएको हो । 

कार्यक्रममा सामाजिक सञ्जालय नियमन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा लेखक तथा अनुसन्धानकर्ता जे.वी. विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन सक्ने भन्दै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । उनले सीमान्तकृत समुदायका लागि सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरिरहेकोमा नियन गर्दा अभिव्यक्ति स्वतन्त्रतालाई ख्याल गर्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा सीमान्तकृत समुदाय र महिलामाथि जातीय र लैंगिक रुपमा आक्षेप लगाउने गरी घृणा पैदा गर्ने गरिएकाले यस्ता विषयलाई नियमन गर्नुपर्ने उनको भनाइ  छ । 

सामाजिक सञ्जाल (प्रयोग र नियमन) सम्बन्धी विधेयक ल्याउने तयारीमा सरकार रहेकाले अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण नगर्ने गरी विभेद, घृणायुक्त अभिव्यक्ति र हिंसा प्रवद्र्धनमा रोक लगाउने र व्यक्तिगत गोपनीयताको हकको सुनिश्चितता गर्न सरकारलाई ध्यानार्कषण गराउनुपर्ने लेखक विश्वकर्माले कार्यपत्रमा उल्लेख गरेका छन् ।

डिग्नीटी इनिसियटिभका अध्यक्ष समेत रहेका विश्वकर्माले सीमान्तकृत नियमनका नाममा यो समुदायको अभिव्यक्ति स्वतन्त्रता हनन हुने जोखिमतर्फ सचेत गराउँदै आफूहरुले छलफलबाट प्राप्त सुझावलाई सांसदहरुसम्म पुर्याउने बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर विश्वकर्मा, अधिवक्ताहरु हेमा न्यौपाने, दीपा सुनार, डिग्नीटी इनिसियटिभका बोर्ड सदस्य सुष्मा छिनाल, अधिकारकर्मीहरु जोगलाल विश्वकर्मा, मानवअधिकार कर्मी रीमा बि.सी. पत्रकारहरु टंक सुनार, रिया क्षेत्री लगायतले बोल्दै सामाजिक सञ्जालको नियमन जरुरी रहेको तर, नियमनका नाममा नागरिकलाई दुःख दिन नहुने बताए । 

कार्यक्रममा  तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरी, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, पत्रकारहरु राम प्रसाद आचार्य, माया के.सी., अम्बिका परियार, शिक्षक लता खड्का लगायतको उपस्थिति रहेको थियो ।