२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

महेशपुर भन्सारले गति लिन सकेन 

 बजेटको अभावमा जग्गा अधिग्रहण र भौतिक पूर्वाधार विकासका कार्य रोकियो

बुधवार , फाल्गुण १९, २०७७

परासी, १९ फागुन । 
छोटी भन्सारबाट स्तरउन्नति भइ मुल भन्सारमा परिणत भएको महेशपुर भन्सारमा व्यवसायीहरुको चाप बढन सकेको छैन् । विगत लामो समयदेखि छोटी भन्सारको रुपमा काम गर्दै आएको महेशपुर भन्सार स्तरउन्नति भई मुल भन्सार त बन्यो तर भन्सारमा व्यवसायीहरुको चाप र कारोबार फिटिक्कै बढेन ।
वि.सं. २०७५ साल साउन १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोष्णा ग¥यो तर भन्सारलाई आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था नमिलाएपछि भन्सारले गति लिन सकेन । त्यसैमा भन्सारमा व्यवसायीहरुको चाप पनि बढन सकेन जसकारण लक्ष्य अनुसारको राजस्व उठन भन्सारलाई मुस्किल भइरहेको छ ।

महेशपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयनमा ल्याउन कर्मचारी दरबन्दी, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरुको निर्माण, गोदामको निर्माण, पशु तथा प्लान्ट क्वारेन्टाइन चेकपोष्टको निर्माण र बाटोघाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरु गर्नुपर्ने देखिन्छ तर यतातर्फ अर्थ मन्त्रालयले ध्यान नदिंदा व्यवसायीहरु सुविधा खोज्दै जिल्लाकै मुल नाका छोडी भैरहवा भन्सार धाउने कार्यले महेशपुर भन्सार सुक्न थालेको छ ।  

यता महेशपुर नाका मुल नाका भए पनि सिमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसामानको निकासी÷पैठारी ढिलो हुने, भन्सारमा एक्जिम कोड नहुने र आवश्यक पूर्वाधारको विकास नभएका कारणले पनि व्यवसायीहरु यस भन्सारमा आउन झन्झट मान्ने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताए ।
एक त कारोबार गर्नको लागि भन्सारले एक्जिम कोडको व्यवस्था नमिलाउने अर्काे तर्फ मालसमानको क्वारेन्टाइन, विषादी परिक्षण, गुणस्तर परीक्षण जस्ता कार्यका भैरहवा नै दौडधुप गर्नुपर्ने कार्यले व्यवसायीहरुले यो नाका छोडने गरेको पाईन्छ । केही व्यवसायीहरुले कारोबार गरे पनि महेशपुर भन्सारको न्युनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसामान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसमानको भाडा पनि बढ्ने र स्थानीयहरुको अनावश्यक तनाव पनि बोक्नुपर्ने समस्या परासीका रामकुमार गुप्ताले बताए ।

यतातर्फ न त जिल्लाका राजनीतिक दलका नेताहरुको ध्यान पुगेको छ न त उद्योग वाणिज्य संघ जस्ता व्यवसायिक संस्थाहरुकै ध्यान पुगेको छ । भन्सारमा यतिबेला खाद्यान्न, चिनी र केही कास्मेटिक सामानरुको फाटफुट भन्सार हुँदै आएको छ । कुनै दिन भन्सारमा मालसामान नभएर यतिकै बसेर दिन बिताउनुपर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउँछन् । भन्सारको मातहतमा ३ वटा छोटी भन्सार पनि रहेको छ तर ती छोटी भन्सारहरु बन्द अवस्थामा छन ।

खुल्ला सिमाना भएका कारण तस्करी पनि बढेको छ । तस्करहरु दिनदहाडै तस्करी गर्न पाएपछि किन भन्सारमा राजस्व तिर्न आउलान र स्थानीयले प्रश्न गरे ?  तस्करीले पनि राजस्वमा गिरावट आएको पाइन्छ । भन्सारले साउन महिनादेखि माघ महिनासम्म कुल १९ करोड ८६ लाख ६० हजार ३९२ रुपैयाँ राजस्व उठाएको छ । भन्सारले ७ महिनामा उठाएको यो राजस्व अरु मुल भन्सारको एकदिनमा उठने राजस्व रहेको तथ्यांक पाइन्छ ।

करिब २ कठ्ठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टाइनहरु जस्ता महत्वपूर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ । भन्सारको विस्तारका लागि ४/५ विगाहा क्षेत्रफल आवश्यक छ । भन्सार विभागले जग्गा अधिग्रहणका लागि यो वर्ष जम्मा ५९ लाख रुपैयाँ छुट्टाएको छ जुन बजेटले एक विगाहा जग्गा पनि किन्न अवस्था नरहेको भन्सारले जनाएको छ । स्थानीयहरु प्रतिविगाहा ८० लाख रुपैयाँ माग गरेको भन्सारले जनाएको छ । राज्यले भन्सारको आवश्यक भौतिक पूर्वाधार र आवश्यक व्यवस्थापन नगर्दा भन्सार ओझेलमा परेको हो । भन्सारको आवश्यक भौतिक पूर्वाधारको लागि राज्यले कुनै प्रक्रिया अगाडी बढाएको पाइँदैन ।