२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छ : अर्थमन्त्री पौडेल

सोमवार , भाद्र ३, २०८१

काठमाडाैं, ३ भदाै । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।

आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताए । उनले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताए । उनले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको बताए । उनले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको बताए । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले नेपालको अर्थतन्त्र चुनौतिको बीचबाट गुज्रिएको बताए । उनले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताए । वर्तमान सरकार बने यता अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा बढी ध्यान दिएको बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अर्थतन्त्रका समस्या समाधान गर्न आवश्यक कदम चालिरहेको बताए । वर्तमान सरकार बनेपछि आम नागरिकको निराशा चिर्न सफल भएको बताए ।