
मंगलवार , भाद्र ४, २०८१
बुटवल, ४ भदौ ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन यही भदौ ८ गते शनिबार रुपन्देहीको बुटवलमा हुने भएको छ । अधिवेशनका लागि चेम्बर लुम्बिनी प्रदेशले विभिन्न उपसमितिहरु गठन गरी तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि जिल्ला, नगर र गाउँ चेम्बरहरुले प्रतिनिधि छनोट गरिरहेको चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोखरेलले बताए ।
चेम्बर अफ कमर्स लुम्बिनीले जिल्ला, नगर, गाउँ तहमा चेम्बरलाई विस्तार गर्नुका साथै एशोसिएट र वस्तुगत सदस्यता समेत प्रदान गरेको जनाएको छ । लुम्बिनी प्रदेशमा अहिले चेम्बरका ५० भन्दा बढी शाखाहरु छन् । जिल्ला, नगर र गाउँ चेम्बरबाट ३ जनाका दरले प्रतिनिधि छनोट भएका छन् भने वस्तुगत र एशोसिएटबाट १÷१ जना प्रतिनिधि छनोट हुनेछन् ।
अधिवेशनले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, जिल्ला नगर उपाध्यक्ष १,वस्तुगत उपाध्यक्ष १, एशोसिएट उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १, सचिव २ र बाँकी सदस्यसहित २७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
अधिवेशन अन्तर्गत बुधवारदेखि निर्वाचन प्रक्रिया सुरु हुने महासचिव जे.पी.कंडेलले बताए । दोस्रो अधिवेशनसम्म आइपुग्दा लुम्बिनी प्रदेशमा चेम्बरले व्यापक रुपमा शाखा विस्तार गरेको बताउँंदै महासचिव कंडेलले आगामी वर्षदेखि संस्थागत विकासमा जोड दिने बताए । शनिबार हुने अधिवेशनको उद्घाटन लुम्विनी प्रदेशका मूख्यमन्त्री चेत नारायण आचार्यले गर्ने कार्यक्रम छ । अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश श्रेष्ठ, लुम्विनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की लगायतले सम्बोधन गर्ने चेम्बर अफ कमर्स लुम्बिनीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij