२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भारतीय पर्यटकलाई अनावश्यक सास्ती दिने कार्य रोक्नुपर्छ : सांसद् घिमिरे

बिहिवार , भाद्र ६, २०८१

भैरहवा, ६ भदौ ।
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भारतीय पर्यटकलाई अनावश्यक सास्ती दिने कार्य रोक्नुपर्ने बताएका छन् । उनले स्थलमार्गबाट सवारीसाधनसहित नेपाल आउने पर्यटकहरुलाई अनावश्यक दुःख दिने कार्य तत्काल बन्द गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् घिमिरेले स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकले पार्किङ, रुट परमिट र चेकजाँचको नाममा सास्ती पाउने गरेको व्यापक गुनासो रहेको बताए । उनले भने, ‘नेपाल भित्रिने पर्यटकहरुले यातायात व्यवस्था कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी रुट परमिट लिनुपर्ने कानूनी व्यवस्था छ । परमिट लिए नेपाल भित्रिने भारतीय नम्बर प्लेटका गाडीलाई ठाउँठाउँमा हुने चेकजाँचले पर्यटकलाई निरुत्साहित बनाएको पर्यटन व्यवसायीहरुको गुनासो छ । ’

नेपाल भित्रिने गाडी र पर्यटकले कानूनी प्रक्रिया पूरा गर्नुपर्नेमा कुनै सन्देह नरहेको उनले बताए । तर, भारतीय नम्बर प्लेटका गाडी देख्नासाथ रोकिहाल्ने, चेकजाँचको नाममा होल्ड गर्ने, अनावश्यक केरकार गर्ने र रकम असुल्ने कार्यहरुबाट पर्यटकहरुमा सकारात्मक सन्देश नगएको सांसद् घिमिरेले बताए । उनले भने, ‘सरकारी र निजी क्षेत्रले पर्यटन क्षेत्रमा अरबौंको लगानी गरे पनि पर्यटकलाई आकर्षित गर्न सकिएन भने त्यसको कुनै अर्थ रहदैन । यसर्थ भारतीय पर्यटकका गाडीलाई अनावश्यक सास्ती दिने कार्य रोक्न म सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (एमाले) को तर्फबाट निर्वाचित घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् ।