२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले ५० प्रतिशत भाडा छुट दिने

सोमवार , भाद्र १०, २०८१

बुटवल, १० भदौ ।
पाल्पाको प्रसिद्ध श्री ७ रणउजेश्वरी भगवती जात्राका अवसरमा यही भदौ ११ गते मंगलबार (भोली) पाल्पाको तानसेन जाने तथा त्यहाँबाट फर्कने यात्रुलाई बस भाडामा ५० प्रतिशत छुट हुने भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले भगवती यात्रामा सहभागीताका लागि यात्रुलाई ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । 

प्रा.लि.का अध्यक्ष दधिराम खरेलका अनुसार भगवती जात्राको महत्वलाई मध्यनजर गर्दै गतवर्ष जस्तै यसवर्ष पनि बुटवल र पाल्पा तानसेनको बसपार्क काउण्टरबाट टिकट काट्ने यात्रुहरुलाई बस भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । बुटवलको जितगढीमा भएको नेपाल–अंग्रेज युद्धमा विजय प्राप्त गरेको उत्सवका रुपमा मनाइने पाल्पाको भगवती जात्राको ऐतिहासिक महत्व र गरिमालाई सम्मान गर्दै बस भाडा छुट दिने निर्णय गरिएको अध्यक्ष खरेलले बताए । 

पाल्पाको भगवती जात्रा समग्र नेपाल र नेपालीको गौरवको विषय भएकोले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले प्रा.लि.को तर्फबाट गरिएको सानो प्रयासस्वरुप भगवती जात्राको दिन बस भाडामा छुट दिने गरिएको प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले जानकारी गराए । सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा धार्मिक तथा साँस्कृतिक पर्यटन क्षेत्रमा पनि थोरै भए पनि योगदान होस् भन्ने उद्देश्यले समेत टिकटमा छुटको व्यवस्था गरिएको प्रबन्धक भुसालले बताए ।

उक्त छुट प्राप्त गर्नका लागि बुटवल र पाल्पा तानसेनको बसपार्कस्थित टिकट काउण्टरबाट टिकट काट्न अनिवार्य व्यवस्था गरिएको प्रा.लि.ले जनाएको छ । हरेक वर्ष भगवती जात्राका अवसरमा सो व्यवस्था गरिंदै आएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले जनाएको छ । 

palpa bhagawati jatra.jpg