२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रोफेसनल लिडरसीप डेभलपमेन्ट प्रोग्रामको २५ औं श्रृंखला पूरा

बिहिवार , भाद्र १३, २०८१

भैरहवा, १३ भदौ ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीद्वारा सञ्चालित प्रोफेसनल लिडरसीप डेभलपमेन्ट प्रोग्रामको २५ औं श्रृंखला पूरा भएको हो । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा प्रत्येक शुक्रबार यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

२५ औैं श्रृंखला पूरा भएको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले यस्तो कार्यक्रमले नेतृत्वसीप क्षमताको विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘यो कार्यक्रम (तालिम) बाट अरुलाई पनि फाइदा होस् । राम्रो सोचका साथ कार्यक्रम गर्दै आउनुभएको छ । प्रशिक्षक विजय पाण्डेलाई धन्यवाद दिन चाहन्छु । ’ उनले सडक वरपर रहेका फूल नटिप्न र नगरलाई सुन्दर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले उद्योगी–व्यवसायीको हकहितसँगै संगठनले सामाजिक र सीपमूलक कार्यक्रम गर्दै आएको बताए । उनले नेतृत्व र व्यक्तित्वको विकास गर्ने उद्देश्यले प्रोफेसनल लिडरसीप डेभलपमेन्ट प्रोग्राम सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रम (तालिम) का प्रशिक्षक विजय पाण्डेले तालिम समापन नभइ २५ औं श्रृंखला पूरा भएको बताए । उनले भने, उ‘द्योग व्यापार संगठन, रुपन्देहीमा महिलाको सक्रियता बढ्दो छ । ’
संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी–व्यवसायीलाई उद्योग–व्यवसाय सञ्चालनसँगै नेतृत्वसीप क्षमताको विकास गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले यो तालिम गर्नुपर्छ भन्ने आफूले जोड दिदै आएको बताए । उनले तालिमलाई निरन्तरता दिदै अझ व्यवस्थित बनाउन आग्रह गरे ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी जयकुमारीले तालिम समयको आवश्यकता भएको बताइन् । उनले आध्यात्मिक चिन्तनले सफल र सुखी बन्न सक्ने बताइन् ।

उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा कार्यक्रम संयोजक गौतम कुमार गुप्ताले तालिमलाई अगाडि बढाउन स्थानीय सरकारको पनि साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले यसपछि अर्को श्रृंखलादेखि रोजगारी कसरी दिने, कसरी उद्यमी बनाउने लगायतका विषयमा तालिम केन्द्रीत हुने जानकारी दिए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको संगठनका उपाध्यक्ष राम मिलन यादवले बताए ।