
शनिवार , भाद्र १५, २०८१
बुटवल, १५ भदौ ।
नेपाली उद्यमी मञ्च रूपन्देहीको आयोजनामा रूपन्देहीमा सातौं राष्ट्रिय युवा उद्यमी सम्मेलन बिहीबारदेखि सुरु भएको छ । तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा आयोजना गरिएको सम्मेलनको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उनले युवाहरूले समस्या समाधानको लागि विभिन्न प्रकृतिको सल्लाह–सुझाव दिनुपर्ने बताए । उनले पछिल्लो समयमा अबको योजना भनेको समस्या केन्द्रीत र सार्थकता हुने प्रकृतिको हुनुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले अबको युवाहरूले देशको नेतृत्वको विषयमा छलफल हुनुपर्ने बताए । उनले पछिल्लो समयमा अर्थतन्त्रको विविध सूचकांक हेर्दा अफ्ठयारो अवस्थामा रहेको बताए । उनले अहिले पछिल्लो समयमा अर्थतन्त्रका विभिन्न सूचकहरू हेर्दा समस्या बढी भएको बताए । अनुभवी उद्यमी, युवा उद्यमीहरूसँगको छलफलमा उत्पादन घटेको बताएको आफूले पाएको उनको भनाइ छ ।
पछिल्लो समयमा उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेको भन्दै अर्थमन्त्री पौडेलले अहिलेको अवस्थामा उद्योगहरू जम्मा ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए । युवा जनशक्तिलाई देशभित्र राख्न सक्छौ की सक्दैनौं भन्ने समस्या आएको भन्दै देशलाई बनाउने ल्याकत सबैमा रहेको उनले बताए । नेपाली जनताको लामो समयको प्रयासबाट लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको भन्दै उनले नागरिकको अधिकार पूर्ण रूपमा उपयोग गर्ने अवस्था आउनुपर्ने बताए ।
युवा उद्यमीहरूलाई सुझाव दिदै मन्त्री पौडेलले अबको युवाले व्यवस्था परिवर्तन मात्रै नभइ अवस्था समेत परिवर्तन गर्न तर्फ लाग्नुपर्ने बताए । सृजनशिल युवा उद्यमीहरूले देशमा नै केही गर्न सक्ने अवस्था रहेको भन्दै उनले राष्ट्रको विकासमा युवाहरू लाग्नुपर्ने बताए ।
अहिलेका युवाले त्यो नीतिगत अगाडी बढेको बताउँदै उनले अर्थतन्त्रका समस्या चिन्ने र समस्या समाधान गर्ने, रोजगारीका अवसर सृजना गर्नेमा जोड दिने, प्राकृतिक स्रोतसाधनको प्रयोग गरी सोही अनुसार योजना बनाएर अगाडी बढेको बताए । उनले भने, ‘अबको युवा भनेको देश विकासमा जोड दिन आवश्यक छ, युवा उद्यमीशिलता गर्दा केही समस्या आएमा हामी समस्या समाधानको लागि सहकार्य गर्न तयार छौं, समस्या समाधान खोज्ने ल्याकतको सरकार छ ।’
युवाहरूलाई नयाँ नयाँ उद्यमशिलतामा लाग्न आग्रह गर्दै उनले उद्यमी र युवा उद्यमीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने गरी काम अगाडी बढेको बताए । अर्थमन्त्री पौडेलले भने, ‘उद्यमीहरूसँगको सम्बन्ध माग्ने र दिनेको सम्बन्ध होइन, एउटै टेबलमा बसेर समस्या समाधान गर्ने सम्बन्ध हो ।’
सार्वजनिक ऋणको आकार वृद्धि हुँदै गएको अवस्थामा सबैले कुन ऋण लिने, कुन ऋण नलिने भन्ने विषयमा छनौट गरेर मात्रै ऋण लिनुपर्ने बताए । बाहिर हल्ला आए जस्तो नेपालको आर्थिक अवस्था श्रींलका जस्तो समेत नभएको बताए ।
स्टाटप बिजनेशलाई सरकारले प्रमोट गर्ने पक्षमा रहेको बताए । पछिल्लो समयमा आईटी क्षेत्रबाट ठुलो योगदान दिन सक्ने अवस्था रहेको भन्दै उनले यसमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै युवा उद्यमी मञ्च रूपन्देहीका अध्यक्ष रिसव वझाले वर्तमान अवस्थामा युवा पलायन रोक्नुपर्ने बताए । उनले युवाहरूले बीचमा राष्ट्रिय मञ्च समेत खडा गरेमा सरकारसँग हातेमालो गर्न तयार रहेको बताए ।
युवा उद्यमी मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ युवा उद्यमीहरू राष्ट्रसँग सहकार्य गर्न तयार रहेको बताए । नेपाली युवाहरूले सुरुवात गरेको अभियानलाई सबै मिलेर सार्थक बनाउनुपर्ने उनले बताए ।
राष्ट्रिय युवा सम्मेलनमा १४ वटा जिल्लामा ८ सय बढी युवाहरूको सहभागीता रहेको कार्यक्रम संयोजक अनिस कसौधनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij